प्रस, वीरगंज, ८ फगुन/
बाराको करैयामाई गाउँपालिकाको तेतरिया टोलमा शनिवार दिउँसो १५ वर्षीया किशोरीमाथि बलात्कारको प्रयास भएको घटना प्रकाशमा आएको छ। करैयामाई गापा वडा नं ५ तेतरिया निवासी महेन्द्र सहनी मल्लाहले ती किशोरीलाई बलात्कारको प्रयास गरेको प्रहरीले जनाएको छ।
किशोरीलाई भेट्न सहनी उनको घरमा आएपछि किशोरीका बुबाले सहनीलाई छोरी घरको माथि तलामा छ भन्दै पठाएका थिए।
किशोरीका बुबा यति भनी काम गर्न घरबाहिर गएपछि घरमा कोही नभएको मौका छोप्दै सहनीले ढोका बन्द गरी बलात्कारको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए।
किशोरी चिच्याएर रुन कराउन थालेपछि छिमेकी घरमा गएकी किशोरीकी आमाले सुनेर होहल्ला गर्दा स्थानीय जम्मा भई अभियुक्त सहनीलाई नियन्त्रणमा लिएको र प्रहरीको सहयोगमा पीडित किशोरीलाई स्वास्थ्य परीक्षणको लागि अस्पताल पठाएको स्थानीय जनप्रतिनिधि सोनालाल साहले जानकारी दिए।
रेडियो पतालगङ्गा कोल्हवीमा कार्यरत सहनीलाई आक्रोशित स्थानीय बासिन्दाले कुटपिट गरी घाइते बनाएका छन्। घटनापछि आक्रोशित स्थानीय बासिन्दाले सहनीलाई कुटपिट गरिरहँदा जिप्रका बाराबाट पुगेको प्रहरी टोलीले सहनीलाई नियन्त्रणमा लिई जिप्रका कलैयामा ल्याएको थियो। घटनाबारेमा अनुसन्धान भइरहेको बाराका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले बताए।