प्रस, बिरुवागुठी, ८ फागुन/
आमोदेवी युवा स्पोट्र्स क्लब बडनिहारद्वारा आयोजित तेस्रो पर्सागढी गोल्डकप फूटबल प्रतियोगिताको उपाधि युनाइटेड क्लब वीरगंजले हात पारेको छ।
फ्युजन फूटबल क्लब गाईघाट उदयपुरलाई टाइब्रेकरमा हराउँदै वीरगंज युनाइटेड क्लबले उपाधि हात पारेको हो।
निर्धारित ४०/४० मिनेटको खेलमा दुवै टीमबाट गोल नभएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो। टाइब्रेकरमा वीरगंजले ५ र गाईघाटले ३ गोल गरेका थिए।
आजको खेलमा वीरगंजका गोलकीपर दिलमणि चौधरी बेस्ट गोलकीपर घोषित भए। वीरगंजकै  राकेश चौधरी म्यान अफ दि म्याच घोषित भए। त्यसैगरी फ्युजन क्लबका टिपसन राई बेस्ट डिफेन्डर घोषित भए भने गाईघाटका दीपक मगर बेस्ट मिडफिल्डर घोषित भए।
प्रतियागिता समापन समारोहका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अजयकुमार चौरसिया विजेता वीरगंजलाई एक लाख पाँच हजार र उपविजेता गाईघाटलाई पचपन्न हजार रुपैयाँ पुरस्कारसहित शिल्ड, प्रमाणपत्र प्रदान गरेका थिए। सो अवसरमा उनले खेलले विदेशमा देशलाई चिनाउने बताए। उनले फूटबलको लोकप्रियता नघटेको र पर्सागढी नगरपालिकामा भएको यस प्रतियोगिताले इतिहास रचेको बताए।
कार्यक्रममा प्रदेससभा सदस्य राजेश्वरप्रसाद साह, नगरप्रमुख लोकनारायण यादव, उपप्रमुख अर्चना चौधरी, वडाध्यक्ष रामनारायण गौरो, समसुद्दीन साह देवान, नेकपा जिल्ला सदस्य गोकर्ण पाठकलगायतले मन्तव्य व्यक्त गरेका थिए। स्वागत मन्तव्य क्लबका सदस्य अरुण प्रकाश रेग्मीले र कार्यक्रमको सहजीकरण बलिराम शुक्लाले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here