प्रस, सेढवा, ८ फागुन/
पिस फर दलित फाउन्डेशन नेपाल, प्रदेश नं २ को आयोजना र सिसिबिन  नेपाल, काठमाडौंको सहयोगमा पर्सा जिल्लाको जीराभवानी गाउँपालिका वडा नं ४ सुपौलीमा १४औं अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवस मनाइएको छ। सो अवसरमा सामाजिक रूपान्तरणको लागि दलित समुदाय सशक्तीकरण तथा दलित अधिकारको लागि दलित दबाब समूह गठन गरिएको छ।
सो अवसरमा दलित समुदायको हकअधिकारको लागि सङ्घर्ष गर्न आवश्यक रहेको सहभागीहरूले बताए।  गाउँपालिकाबाट दलित समुदायले अहिलेसम्म सेवा सुविधा नपाएको पनि सहभागीहरूले गुनासो गरेका छन्।
नेपाल सरकारले दिएको सेवा सुविधा गाउँपालिकाले दबाएर राखेको दलित अगुवाहरूले बताए। गाउँका गैरदलितले दलित समुदायलाई अहिलेसम्म अछूत बनाएर राखेको उनीहरूले बताए।
“दलित दबाब समूह आवाजविहीन दलितको आवाज बन्नुपर्छ,” एकजना दलित अगुवाले भने, “हामी अब चुपचापले बस्नुहुँदैन। हाम्रो पुर्खाले पनि दमन, अत्याचार, शोषण, गुलामी सहेका छन तर हामीले अब प्रतिकार गर्नुपर्छ।” त्यस्तै, सुपौलीकी दलित महिला कौशिलिया देवीले राहत वितरणमा दलितसँग विभेद भएको आरोप लगाइन्।
दलित समुदायमाथि भइरहेको हिंसा, हत्या, विभेदविरुद्ध आवाज उठाउन दलित दबाब समूह अग्रसर हुनुपर्छ। दलितमाथिको जातीय विभेद, छुवाछूत, सामाजिक विभेद, अन्याय, अत्याचार, दमन, शोषण, असमानता कायम नै रहेको र गैर दलितले दलितलाई मानवसम्म मानेका छैनन् सहभागीहरूले गुनासो गरे।
पालिका र वडाले अहिलेसम्म दलित समुदायको लागि खासै केही गरेको छैन। गाउँपालिकाको बजेट, नीति तथा कार्यक्रममा दलित सवाल, अधिकारलाई समावेश नगरिएको र सामाजिक आन्दोलन गर्ने तयारी गरिरहेको भेलाका सहभागीहरूले बताए।
किसनाथन रामको संयोजकत्वमा ११ सदस्यीय दलित दबाब समूह गठन गरिएको छ। समूहमा जगदीश राम, कोशिला देवी, सरिता देवी, आल्सा देवी, देवराज राम, कमलावती देवी, राजेश राम, हेमलाल राम, प्रमोद राम, शिव राम, सोनालाल राम, केशराज रामलगायत छन्।
भेलामा सुरेन्द्र पासवान, चन्द्रकिशोर राम, परमानन्द राम, चन्देश्वर रामलगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here