प्रस, पंचगावाँ, ७ फागुन/
निजी जग्गामा पोखरी बनाउने स्वीकृति लिएर सखुवाप्रसौनी गाउँपालिका–१ जमुनियामा खोला र राष्ट्रिय वनमा अनधिकृत उत्खनन गरेको भन्दै स्थानीयले रोक लगाएका छन्।
लक्ष्मण सहनी र अशोक साहले आफ्नो निजी ४ बिघा जग्गामा पोखरी निर्माणको लागि ६ महीनादेखि एक्साभेटर लगाएर जग्गा खन्ने काम गर्दै आएका छन्। सो जग्गा जमुनिया खोला र जङ्गल क्षेत्रसँग जोडिएको कारण त्यहाँबाट ढुङ्गा, बालुवा उत्खनन भइरहेको छ। त्यहाँ निजी जग्गाबाहेक पनि एक्साभेटर लगाएर राष्ट्रिय वन र खोलाको दोहन भएको भन्दै स्थानीयले आज उत्खननमा रोक लगाएका छन्। स्थानीय वासुदेव महतो थारूको अगुवाइमा पचासौंजनाले तीनवटा टिपर र एउटा एक्साभेटरलाई नियन्त्रणमा लिंदै निजी जग्गामा पोखरी खन्ने काममा रोक लगाएका थिए।
रोक लगाउने थारूले जिल्ला प्रशासन कार्यालयबाट निजी जग्गामा पोखरी बनाउने काम मापदण्ड अनुसार भए–नभएको अनुगमन गरिएपछि मात्र खुला गर्नुपर्ने माग गरेका थिए।
विवाद बढेपछि स्थानीय प्रहरी, डिभिजन वन कार्यालयका प्रतिनिधि र पोखरी खन्ने सहनी र साहको रोहबरमा तीन दिन काम स्थगन गर्ने र जिल्ला प्रशासन कार्यालयको अनुगमनपछि मात्र निर्णय गर्ने सहमति भएको छ। निजी जग्गाबाट उत्खनन भएका बालुवा, गिट्टीमा स्थानीय सखुवाप्रसौनी गापाले ट्याक्टर र टिपरबापत शुल्क लिंदै आएको छ।
सो शुल्कमध्ये चालीस प्रतिशत प्रदेश सरकार र साठी प्रतिशत स्थानीय तहलाई उपलब्ध हुने गरेको छ। निजी जग्गाको नाममा ६ महीनादेखि चार बिघा जग्गामा पोखरी खन्ने काम भइरहेको छ। जमुनिया खोला र राष्ट्रिय वनको जग्गाबाट गिट्टी, बालुवाको दोहन गर्न लामो समयसम्म पोखरी खन्ने कामलाई निरन्तरता दिंदै आएको देखिन्छ।