बलिराम शुक्ला, बिरुवागुठी, ७ फागुन/
    पर्सागढी नगरपालिका–३ बढनिहारमा जारी तेस्रो पर्सागढी गोल्डकप फूटबलको उपाधिको लागि शनिवार हुने फाइनल खेलमा दुवै टीमले जीतको दाबेदारी गरेका छन्।
    वीरगंज युनाइटेड क्लब र फ्युजन क्लब गाईघाट उदयपुरले फाइनल खेलको उपाधि जित्ने दाबी गरेका छन्। वीरगंज युनाइटेडका कप्तान मुन्ना चौधरीले पर्सागढी गोल्डकपको यसअघिका दुईवटा उपाधि आफ्नो क्लबले जितेको र तेस्रो जितेर ह्याट्रिक गर्ने बताए। उनले आफ्नो क्लबका खेलाडी संयमित र अनुशासित भएर उत्कृष्ट खेल खेल्दै आएको र फाइनलमा पनि यसलाई निरन्तरता दिंदै उपाधि जित्ने दाबी गरे।
    फ्युजन क्लब उदयपुरका कप्तान सुदीश श्रेष्ठले आफ्नो क्लब पर्सागढी गोल्डकपमा पहिलोपटक सहभागी भएको बताए। उनले पहिलोपटक सहभागी भएपनि क्लबमा युवा खेलाडीहरू भएको र आत्मबल बलियो भएको कारण उपाधि जित्ने दाबी गरे। उनले दुई वर्ष लगातार विजयी वीरगंज युनाइटेडलाई यसपटक ह्याट्रिक गर्न नदिने बताए।
    लकडाउनको कारण गत वर्षको यो प्रतियोगिता स्थगित भएको थियो। त्यसअघि भएका दुईवटा प्रतियोगितामा वीरगंज युनाइटेडले विजय हासिल गरेको थियो। यसपटक प्रतियोगितामा वीरगंज युनाइटेडले हेटौंडा र वाग्मती युवा क्लब सर्लाहीलाई ० विरुद्ध २ गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।
    यसैगरी, फ्युजन क्लब गाईघाटलाई हर्दी समाज राप्ति चितवनलाई १ का विरुद्ध ३ गोलअन्तरले र आयोजक आमोदेवी युवा क्लबलाई ० का विरुद्ध २ गोलअन्तरले पराजित गरी फाइनलमा प्रवेश गरेको हो। प्रतियोगिता आयोजक कमिटीका आमोदेवी युवा क्लबका अध्यक्ष शम्भुदास थारूले फाइनल खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने बताए। उनले प्रतियोगितामा जनसहभागिता बढ्दै गएको र खेलप्रति आकर्षण पर्साको ग्रामीण क्षेत्रमा फैलिरहेको बताए। उनले प्रतियोगिताको उपाधि जित्नेलाई रु १ लाख ५० हजार र उपविजेतालाई रु ५५ हजार पुरस्कारको व्यवस्था गरिएको जानकारी गराए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here