प्रस, वीरगंज, ६ फागुन/
रिलिफ सोसाइटी अफ कमर्सको २९औं वार्षिक साधारणसभा एवं स्व बिहारीलाल लाठको ९औं वार्षिक पुण्यतिथिको अवसरमा स्व बिहारीलाल लाठ कर्मवीर सम्मानपत्र प्रदान गरिएको छ।
रिलिफ सोसाइटीका संस्थापक महासचिव एवं पूर्वअध्यक्ष स्व बिहारीलाल लाठको पुण्यतिथिको अवसरमा उनको नाममा स्थापित कर्मवीर सम्मानपत्रबाट नेपाल उद्योग वाणिज्य सङ्घ प्रदेश २ का अध्यक्ष एवं प्रमुख अतिथि गणेश लाठले वीरगंजका समाजसेवी मुरलीधर रूँगटालाई सम्मानित गरेका थिए।
कार्यक्रममा वक्ताहरूले लामो समयदेखि रिलिफ सोसाइटीले समाजमा गरेको योगदान अतुलनीय रहेको बताए। रिलिफ सोसाइटीले स्थापनाकालदेखि नै वीरगंजमा आफ्नै भवनमा निश्शुल्क कानको उपचारसँगै इम्प्याक्ट नेपालसँगको सहकार्यमा अस्पतालसमेत निर्माण गरी न्यूनतम मूल्यमा कानको शल्यक्रिया गरी समाजसेवा योगदान दिइरहेको बताए। रिलिफ सोसाइटीले विभिन्न क्ष्Fेत्रमा योगदान गर्नेलाई सम्मान गर्दै आएको र कर्म गरी खानेलाई पहिचान गरी सिलाइ मेशिन वितरण गरी रोजगारको अवसर दिएकोप्रति वक्ताहरूले आभार व्यक्त गरेका थिए। रिलिफ सोसाइटीले महिलाहरूलाई सिलाइ मेशिन वितरण गरेर रोजगार सृजना गरी परनिर्भरताबाट उन्मुक्ति दिने कार्यमा सहयोग गरेको बताए। कार्यक्रममा वक्ताहरूले रिलिफ सोसाइटीले आफ्नो सेवा विस्तार गर्दै लैजानुपर्ने सुझाव दिएका थिए।
कार्यक्रममा कोभिडको बेलामा समाजमा योगदान दिएका ६ जनालाई सम्मानित गरिएको थियो। सम्मानित हुनेमा शोभा अधिकारी उपाध्याय, सानो पाइलाका कञ्चन झा, चिकित्सक डा नीरज सिंह, ग्रीनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतान र सामाजिक अभियन्ता प्रकाश थारू रहेका छन्।
सो अवसरमा बारा, पर्साका १५ जना महिलालाई सिलाइ मेशिन वितरण गरिएको थियो।
संस्थाका अध्यक्ष अशोक लाठको सभापतित्वमा भएको कार्यक्रममा ज्येष्ठ नागरिक सङ्घ पर्साका पूर्वअध्यक्ष पशुपति विक्रम शाह, नेपाली काङ्ग्रेस पर्साका सभापति अजय द्विवेदी, जसपाका केन्द्रीय सदस्य निजामुद्दीन समानी, नेकपा पर्साका अध्यक्ष प्रभु हजरा, अधिवक्ता बालमकुन्द खरेल, मधु राणा, उषा शाह, वीउवासङ्घका केन्द्रीय सदस्य सुबोध गुप्ता, इम्प्याक्ट नेपालका सुभाष कोइरालालगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन सोसाइटीका महासचिव नीरज अग्रवालले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here