प्रस, निजगढ, ६ फागुन/
निजगढको शहीद हीरालाल रङ्गशालामा जारी तेस्रो मेयर कप फूटबल प्रतियोगिता अन्तर्गत बिहीवार भएको पहिलो क्वाटरफाइनल खेलमा विजयी बन्दै सिंगौल फूटबल क्लब ‘ए’ सेमिफाइनलमा प्रवेश गरेको छ। आजको खेलमा निजगढ सिटी क्लबलाई दुईका विरुद्ध तीन गोलअन्तरले पराजित गरी सिंगौल सेमिफाइनलमा प्रवेश गरेको हो।
खेल शुरू भएको पाँचौंऔं मिनेटमा सिंगौलका रोशन थापाले गोल गरेर आफ्नो क्लबलाई अग्रता दिलाएका थिए। निजगढ सिटीका बुद्धिमान भुलोनले मध्यान्तर हुन पाँच मिनेट बाँकी छँदा गोल गरेर खेललाई बराबरीमा ल्याएका थिए। मध्यान्तरअघिको खेलमा दुवै टीम बराबरीमा थिए। मध्यान्तरपछिको ३०औ मिनेटमा सिंगौलका अर्बिन थापाले गोल गरेर आफ्नो टीमलाई एक गोलको अग्रता दिलाए।
दोस्रो गोल भएको तीन मिनेटमैं सिंगौलका सन्दीप खुलालले आकर्षक हेडमार्फत गोल गर्दै एकका विरुद्ध तीन गोलअन्तरले आफ्नो टीमलाई अग्रता दिलाउन सफल भए। मध्यान्तरपछिको खेल सकिन सात मिनेट बाँकी छँदा निजगढ सिटीले सिंगौलविरुद्ध फ्रिकिक पाएको थियो र त्यसलाई सफलतापूर्वक गोलमा परिणत ग–यो। तर त्यसअघि नै दुई गोलअन्तरले पछाडि परेको निजगढ सिटी दुई गोलमैं चित्त बुझाएर पराजयको सामना गर्नुप–यो।
आजको खेलमा उत्कृष्ट प्रदर्शन गरेका निजगढ सिटीका सिजल तिमिल्सिना म्यान अफ दि म्याच घोषित भए। प्रतियोगिता अन्तर्गत शुक्रवारको दोस्रो क्वाटरफाइनल खेलमा रतनपुर युनाइटेड युथ क्लब र हिमाल युवा क्लब भिड्ने आयोजक निजगढ फूटबल क्लबले जनाएको छ।