प्रस, परवानीपुर, ६ फागुन/
पर्साको पोखरिया नगरपालिका–९ बैरिया टोलकी १६ वर्षीया रिङ्की कुमारीको बच्चाको डिएनए परीक्षणबाट उनलाई गर्भवती बनाउने प्रेमीको पहिचान गर्ने प्रहरीको योजना छ।
पर्साका एकजना प्रहरी अधिकृतका अनुसार रिङ्कीको मृत्यु भएपछि पेटमा रहेको बच्चाको डिएनए नमूना सङ्कलन गरी परीक्षणको लागि काठमाडौं पठाइएको र डेढ महीनापछि डिएनए र भिसेरा रिपोर्ट आएको खण्डमा उनको मृत्युको कारण र गर्भवती बनाउने अभियुक्तको पहिचान हुने बताए। गर्भपतन कुन समयमा कसरी गर्ने शिक्षाको अभावमा उक्त किशोरीको एक साताअघि मृत्यु भएको हो।
गत शुक्रवार बिहान ५ बजे गर्भ तुहाउने औषधि खाएपछि छटपटिएर उनको घरमैं मृत्यु भएको थियो भने अस्पतालमा शल्यपरीक्षण गर्दामा उनको पेटमा ५ महीनाको बच्चा भेटिएपछि उनको मृत्युमा निजको प्रेमी, घरपरिवार अथवा स्वयम् उनकै संलग्नता छ कि भनेर आशङ्का गर्दै अनुसन्धान शुरू गरेको छ।
अहिले गाउँकै एकजना केटामाथि आशङ्का भएपछि उनी फरार छन्। घरपरिवारले पनि आफूले गर्भ तुहाउने औषधि नखुवाएको बताएका छन्। गाउँलेहरूले पोखरिया आसपासकै पसलबाट औषधि किनेर ल्याइ खुवाइएको आशङ्का गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here