प्रस, परवानीपुर, ६ फागुन/
त्रिवेणी समूहको धागो उत्पादन गर्ने नेपालकै अग्रणी उद्योग त्रिवेणी स्पिनिड्ढो उत्पादन ठप्प भएको छ।
वीरगंज–पथलैया औद्योगिक कोरिडोरको छातापिपरामा अवस्थित उद्योगको उत्पादन गत माघ २५ गतेदेखि ठप्प भएको हो।
उद्योग व्यवस्थापन पक्षले गत आव २०७६/०७७ को बोनस नदिएकोले सूचना टाँस गर्दै मजदूर टे«ड युनियनहरूले उत्पादन ठप्प पारी हडतालमा उत्रेका हुन्।
कारखाना श्रमिक सङ्घका नेता रूपेश यादवका अनुसार कम्पनीलाई पटक–पटक गत वर्षको बोनस दिन अल्टिमेटम दिंदा पनि व्यवस्थापन पक्षले चासो नदेखाएकोले आफूहरू हडतालमा उत्रिन बाध्य भएको बताए।
जबसम्म उद्योग व्यवस्थापन पक्षले बोनसको पैसा मजदूरको खातामा हाल्दैन, तबसम्म उत्पादन शुरू नगर्ने चारवटा मजदूर सङ्गठनबीच आपसी सहमति भएको मजदूरहरूले बताए।
एकजना मजदूरले रु २५ हजारदेखि ५० हजारसम्म बोनस पाउने देखिएको बताए।
उद्योगमा काम गर्ने १२ सय मजदूरको बोनसको रकम जोड्ने हो भने करीब रु ५ करोडको हाराहारीमा आउँछ।
कोरोनाकालमा थलिएको धागो उद्योगले गत आवको बोनस दिन सकेको छैन र चालू आवमा उद्योग चलाएर बोनस दिने तयारीमा रहेको कारखाना प्रबन्धक राजेन्द्र नाथले बताए। उनले भने– “एक महीनाअगाडि बोनसको सम्बन्धमा जिल्ला प्रशासन कार्यालय, बारामा छलफल हुँदा प्रत्येक मजदूरलाई बोनसबापत पेश्की रु १२ हजार दिने र उद्योग चलाउने सहमति भए तापनि मजदूरहरूले अहिले आएर हडताल गरेर उत्पादन ठप्प पारेका छन्।”
उनले उद्योगका सञ्चालक रामचन्द्र सङ्घाई (नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष)की आमाको निधन भएकोले अहिले उद्योगको समस्या समाधानमा पनि ढिलाइ भइरहेको बताए।
त्रिवेणी स्पिनिङले दैनिक ३० टन धागो उत्पादन गरी भारत र टर्कीमा निर्यात गर्दै आएको छ। त्रिवेणी समूहको त्रिवेणी टेक्सटाइल्स यसअघि बन्द भइसकेको छ।