प्रस, वीरगंज, ४ फागुन/
दोहोरो नागरिकता सम्बन्धमा वीरगंज महानगर–७ निवासी सोमेन्द्र सिंहमाथि अनुसन्धान शुरू भएको छ।
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो, गृह मन्त्रालय तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरी कारबाई प्रक्रिया अगाडि बढाउन जिल्ला प्रशासन कार्यालय, पर्सालाई निर्देशन दिएपछि अनुसन्धान अगाडि बढाइएको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताए।
आफूमाथि कारबाई प्रक्रिया अगाडि बढेपछि सिंह आफैंले नागरिकता परित्यागको लागि जिप्रका पर्सामा निवेदन दर्ता गराएका थिए। २०६३ चैत १२ गते नागरिकता लिएपछि उनले नेपालमा के कति हानि–नोक्सानी गरेको भन्दै अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय, मालपोत कार्यालय, आन्तरिक राजस्व कार्यालय, नेपाल राष्ट्र बैंक, कम्पनी रजिस्ट्रार कार्यालय, घरेलु तथा वाणिज्य कार्यालयमा पत्राचार गरी विवरण माग गरिएको छ।
सिंह र उनकी पत्नी मीना सिंहको बारेमा जिप्रका पर्साले माथि उल्लिखित ठाउँमा पत्राचार गरेको प्रजिअ तामाङले बताए।
भारतीय नागरिक सिंहले २०६३ सालमा टोलीमार्फत नागरिकता लिएका थिए। झूटो विवरण दिई नागरिकता लिएका भनी चारैतिरबाट घेराबन्दीमा परेपछि सिंहले कानून व्यवसायीमार्फत जिल्ला प्रशासन कार्यालयमा माघमा नागरिकता परित्यागको लागि निवेदन दर्ता गराएका थिए।
प्रजिअ तामाड्ढा अनुसार सम्बन्धित ठाउँमा पत्राचार भएको र सोमेन्द्र र मीनाको नाममा कति सम्पत्ति रहेको र उनीहरूले राज्यलाई कति क्षति पु–याएको विवरण प्राप्त भएपछि कारबाई प्रक्रिया अगाडि बढाउने बताए।
सिंह भारत, बिहारको हाजीपुर वैशाली निवासी हुन्।