प्रस, निजगढ, ४ फागुन/
निजगढ नगरपालिका–४ कछडिया टोलनजीकै रहेको अवनिश क्रसर उद्योगमा आगलागी हँुदा ३५ लाख रुपैयाँभन्दा बढी धनमालको क्षति भएको अनुमान गरिएको छ।
सोमवार दिउँसो करीब १२ बजे क्रसर उद्योग रहेको झाडी बुट्यानमा एक्कासि आगोको मुस्लो देखिए पनि तत्कालै नियन्त्रणमा लिन नसक्दा आगोले मेशिनहरूमा समेत क्षति पु–याएको उद्योगका कर्मचारी लोया कुमरले बताए।
हावा चलेकै कारण आगो एकैछिनमा फैलिंदै मेशिनमा पनि लागेको कुमरले बताए।
क्रसर मेशिनमा जडान मोटर, ढुङ्गा बोकेर कोनमा जाने ठूलो, सानो फित्ता र मेशिनमा समेत आगो लागेको उनले बताए। आगोको मुस्लो देखेपछि गाउँले आएर आगो नियन्त्रणमा लिन खोज्दा पनि नसकेपछि इलाका प्रहरी कार्यालय निजगढ, सशस्त्र प्रहरी निजगढ बेसका सुरक्षाकर्मी र निजगढ नगरपालिकाको वारुणयन्त्रको मदतले करीब दुई घण्टापछि आगो नियन्त्रणमा आएको प्रत्यक्षदर्शी गाउँलेहरूले बताए।
वारुणयन्त्र समयमैं नआउँदा क्षति बढी भएको स्थानीयहरूको भनाइ छ। नगरपालिकालाई खबर गरेको झन्डै एक/डेढ घण्टापछि मात्र करीब ५ किलोमिटर टाढा रहेको घटनास्थलमा वारुणयन्त्र पुगेको एकजना सुरक्षाकर्मीले बताए।
आगलागीको कारण यकीन हुन नसकेको इप्रका निजगढले जनाएको छ। लगभग ८ वर्षदेखि निरन्तर बन्द रहेको अवनिश क्रसर उद्योगमा करोडौं मूल्यको मेशिन, लोडर, डोजर, टिपरलगायतका सामान अलपत्र अवस्थामा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here