प्रस, निजगढ, २ फागुन/
निजगढ फूटबल क्लबको आयोजनामा निजगढमा सञ्चालन भइरहेको तेस्रो निजगढ मेयर कप फूटबल प्रतियोगिता अन्तर्गत आइतवार भएको खेलमा सिंगौल फूटबल क्लब ‘ए’ र रतनपुर युनाइटेड युथ क्लब विजयी भएका छन्।
रतनपुरले नमोबुद्ध आधुनिक क्लबलाई ० का विरुद्ध तीन गोल गरेको थियो। रतनपुर क्लबका कप्तान आशालाल कुमरले दुई गोल गरेका थिए। खेलको ८औं मिनेटमा कप्तान कुमरले पहिलो गोल गर्दै रतनपुरलाई अग्रता दिलाए। मध्यान्तरअघि एक गोलले अगाडि रहेको रतनपुरले मध्यान्तरपछि दुई गोल गरेको थियो।
खेलको ४१औं मिनेटमा रतनपुरका समन कुमरले गोल गर्दै रतनपुरको अग्रता दोब्बर बनाएका थिए। तेस्रो गोल गर्ने क्रममा कप्तान आशालालले ५०औं मिनेटमा फ्रिकिकमार्फत गोल थपे। रतनपुरका कप्तान आशालाल खेलको म्यान अफ दि म्याच घोषित भए।
यसैगरी, दोस्रो चरणको खेलमा शान्तिटोल युनाइटेड क्लब सिंगौल फूटबल क्लब ‘ए’सँग पराजित भएको थियो। शान्तिटोल युनाइटेडलाई ० का विरुद्ध ६ गोल गरी सिंगौल फूटबल क्लब ‘ए’ प्रतियोगिताको अघिल्लो चरणमा प्रवेश गर्न बाटो खुलेको छ। सो प्रतियोगिताको सोमवार हुने दुई चरणको खेलमा पहिलो चरणमा सिंगौल फूटबल क्लब ‘ए’ र हिमाल फूटबल क्लबबीच कडा प्रतिस्पर्धा हुनेछ भने दोस्रो चरणको खेलमा बाघभैरव युवा क्लब र निजगढ युनाइटेडबीच रोमाञ्चक प्रतिस्पर्धात्मक खेल हुने आयोजक संस्थाले जनाएको छ। निजगढ नपा–९ स्थित शहीद हीरालाल रङ्गशालामा उक्त खेलहरू भइरहेका छन्।