प्रस, परवानीपुर, २ फागुन/
पर्सा प्रहरी नीति नियम पालना गर्ने सवालमा मानवीय धर्म निर्वाह गर्न असफल देखिएको छ। शनिवार राति सवा ९ बजेको घटनामा पर्सा प्रहरीको यस्तो चरित्र उदाङ्गो भएको हो। घटना  सवारी दुर्घटनामा परी घाइते भएका एक युवकलाई तत्कालै उद्धार गरी अस्पताल पु–याउनुको सट्टा पर्सा प्रहरीका एकजना प्रहरी सहायक निरीक्षकले गरेको गैरजिम्मेवारीपनको हो।
वीरगंज–१३ मुर्लीका ३५ वर्षीय युवक  मनोजकुमार सिंह ना ४५ प ७१५० नं. को मोटरसाइकल लिएर पावरहाउसबाट घरतर्फ जाँदै थिए। रातिको समयमा सडकमा रहेको गाईको बथानसँग मोटरसाइकल ठोक्किएर मोटरसाइकल र चालक पछारिए। मोटरसाइकलमा खासै क्षति नभए पनि मोटरसाइकल चालक बेहोश भए। त्यसपछि हल्ला मच्चियो। प्रत्यक्षदर्शीहरू प्रहरीलाई फोन गरौं, एम्बुलेन्सलाई बोलाऔं भनेर एकअर्कामा सल्लाह गर्दै गर्दा जिल्ला प्रहरीको रात्रि गस्तीमा हिंड्ने मोबाइल टोली घटनास्थलमा पावर हाउसतिरबाट आइपुग्छ। गस्ती टोलीका इन्चार्ज थिए, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी सहायक निरीक्षक सदानन्दप्रसाद यादव। त्यसपछि उनले जिल्लाको कन्ट्रोलमा घटनाबारे सेटमैं जानकारी गराएर घाइतेलाई अस्पताल पु–याउन गाडी पठाउन गुहार गरे। तबसम्म घाइतेले घटनास्थलमैं पैन्टमा पिसाब गरिसकेका थिए।
टाउको र शरीरमा गम्भीर चोट लागेपछि उनी सडकमैं छटपटाइरहेका थिए। तर प्रहरीले उनलाई गस्ती गर्ने मिनीट्रकमा लोड गरेन। प्रहरीहरू घाइते तथा भीडभाडको रमिता हेरेर बसिराख्यो। घटना भएको करीब २५ मिनेटपछि जिल्ला प्रहरीबाट भ्यानसहित केही सुरक्षाकर्मी आए। तबसम्म प्रत्यक्षदर्शीको दबाबमा वडा प्रहरी कार्यालय श्रीपुरको टाइगर टोलीको सहयोगमा घाइतेलाई गस्ती ट्रकमैं हालिसकेको अवस्थामा फेरि जिल्लाको गाडीमा राखेर अस्पताल पु–याइयो। उनको अवस्था मध्यम छ। उनलाई नारायणी अस्पतालमा उपचार गरी आइतवार दिउँसो अपोलो ट्रमा सेन्टर बिर्तामा रेफर गरिएको छ। जिल्ला प्रहरी कार्यालयभन्दा २ किलोमिटर टाढा मोटरसाइकल दुर्घटना हुँदा ढिला रेस्पोन्स गर्ने पर्सा प्रहरीले गर्दा सुरक्षा निकायप्रतिको जवाफदेहितामा आँच पुगेको सर्वसाधारण बताउँछन्। प्रहरीले तत्कालै रेस्पोन्स गरी घाइतेको ज्यान बचाउनुको सट्टा जिल्लाको मापदण्ड र गाइडलाइन पालना गर्दा प्रहरी हेर्दै गर्छ, घाइते मर्दै गर्छ भन्ने सर्वसाधारणको बुझाइ छ। यस्तो प्रवृत्तिलाई प्रहरीले नसुधारेसम्म ‘प्रहरी मेरो साथी’ र ‘समुदाय–प्रहरी साझेदारी अभियान’ नाम र कागजमा मात्र सीमित हुनेछ। जिम्मेवार प्रहरीको लागि सेवा नै मूल धर्म हो भन्ने सोचका साथ कर्तव्यपालन गर्न पर्सा प्रहरीलाई सर्वसाधारणको सुझाव छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here