प्रस, सर्लाही, २१ माघ/
सर्लाहीको वाग्मती नगरपालिका–४ मा निर्माणाधीन १२१ बिघा क्षेत्रफलको पोखरीको काम उत्तराद्र्धमा पुगेको छ। सर्लाही र रौतहटको सिमाना भएर बग्ने वाग्मती किनारमा बनाउन लागिएको पोखरी नगरको दिगो विकास र समृद्धिको मेरुदण्डको रूपमा विकास हुने अपेक्षा वाग्मती नगरपालिकाको कार्यालयले जनाएको छ।
अहिले पोखरीमा पानी भर्दै अनुगमन निरीक्षण गर्ने कार्य भइरहेको छ। पोखरीमा भरिएको पानीको मात्रा जमीनमा सोसिएको छ, छैन या जमीनको कुनै अवस्थामा परिवर्तन भए नभएको प्राविधिकहरूले बुझ्ने कार्य गरिरहेका नगरका सबइन्जिनीयर सुजन बडालले बताए।
पोखरीको माध्यमबाट नगरको आर्थिक समृद्धिसँगै पर्यटन विकासमा समेत टेवा पुग्ने सो क्षेत्रका बासिन्दाको विश्वास छ। माघ दोस्रो हप्ताबाट पानी भर्न शुरू भएको पोखरीमा पानी भरिएपछि अवलोकन गर्न आउने आन्तरिक पर्यटकको घुइँचो बढेको छ। पोखरीमा वाग्मती खोलाको पानी हाल्ने काम भइरहेको छ।
वाग्मती नदीको उकास जग्गामा देशकै ठूलो मानवनिर्मित पोखरी बनाउने योजनासहित गत वर्षबाट निर्माण शुरू भएको थियो।
निर्माणको लागि डिजाइन, पर्खाल लगाउने र सफा गर्ने कार्य सम्पन्न भएको वाग्मती नगरपालिकाका प्रमुख भरतकुमार थापाले जानकारी दिए। अर्को चरणमा पोखरी फिनिसिङ तथा सौन्दर्यीकरणको काम शुरू भएको नगरप्रमुख थापाले बताए।
नगरको मुख्य आयस्रोतको रूपमा प्रयोग हुने गरी पोखरीको परिकल्पना गरिएको नगरप्रमुख थापाले दाबी गर्दै पोखरी देशकै नमूना बन्ने बताए। १२१ बिघा क्षेत्रफलको मानवनिर्मित उक्त पोखरीमा माछापालनसँगै पर्यटन विकास अभिवृद्धि गर्ने नगरपालिकाको लक्ष्य छ। पोखरीमा बोटिङ, स्विमिङसँगै पर्यटकका लागि आकर्षक होटल र खाजाघरको समेत निर्माण गर्ने योजना छ।
पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत कर्मैयाबाट २ किलोमिटर दक्षिणमा रहेको पोखरी पर्यटकका लागि समेत आकर्षणका साथै स्थानीयस्तरमा रोजगार, वातावरण शुद्धीकरण तथा जलचर प्राणीको संरक्षणसमेत हुने देखिएको छ।
स्थानीय, प्रदेश र केन्द्र सरकार साथै अन्य निकायहरूबाट समेत आर्थिक सहयोगमा निर्माणाधीन पोखरीमा हालसम्म २५ करोड लगानी भइसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल पोखरेलले जनाएका छन्। पोखरी निर्माण सम्पन्न गर्नका लागि ६० करोड रुपैयाँको हाराहारीमा लगानी लाग्ने अनुमान छ। वाग्मती नगरपालिकाले गरेको प्रक्षेपण अनुसार उक्त पोखरीबाट नगरले बर्सेनि २० करोड रुपैयाँको हाराहारीमा आम्दानी गर्ने लक्ष्य राखेको अधिकृत पोखरेलले बताए।