प्रस, वीरगंज, २९ माघ/
पिस फोर दलित फाउन्डेशन नेपाल, प्रदेश २ को आयोजनामा पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका–५, एकडर्वा, लखनपुरमा दलित समुदायको भेलाले दलित अधिकारको लागि दलित दबाब समूह गठन गरेको छ।
पर्सा जिल्लाभरि समूह गठन गर्ने योजना अन्तर्गत दलित समुदायका समस्या, दलित समुदायका अधिकारको लागि समूह गठन गरिएको छ।
दलित दबाब समूहको संयोजक रामाशिष मुसहरको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको पिस फर दलित फाउन्डेशन नेपालका मनोज रामले बताए। गठित समूहको सहसंयोजक सङ्गीतादेवी डोम, रामजी मुसहर, सन्तोष मुसहर, मन्तोरादेवी मुसहर, उमादेवी मुसहर, जीतेन्द्र मुसहर, गणेश मुसहर, किस्मादेवी डोम, दावा मुसहर, राजेन्द्र मुसहर छन्।
दलितको सामाजिक न्याय तथा सामाजिक स्वतन्त्रताको लागि १०१ दलित युवा नेतृत्व अभियानको संयोजक सुरेन्द्र पासवान, पिस फर दलित फाउन्डेशन नेपालका अशोक राम, प्रमानन्द राम, चन्द्रकिशोर रामलगायत दलित अगुवाहरूको सहभागिता थियो।
गाउँपालिकाबाट दलित समुदायले अहिलेसम्म सेवा सुविधा नपाएको दलित समुदायको गुनासो रहेकोे छ। सरकारले दिएको सेवा सुविधा, हकअधिकार गाउँपालिकाले दबाएर, लुकाएर राखेको दलित अगुवाले आरोप लगाएका छन्। उनीहरूले दलित समुदायलाई अहिलेसम्म अछूत बनाएर राखेको आरोप लगाएका छन्।
दलित समुदायमाथि भइरहेको हिंसा, हत्या, विभेदविरुद्ध आवाज उठाउन दलित दबाब समूह गठन गरिएको बताइएको छ। समूहले दलितमाथिको जातीय विभेद, छुवाछूत, सामाजिक विभेद, अन्याय, अत्याचार, दमन, शोषण, असमानता कायम नै रहेको बताएको छ। गाउँपालिका र वडाले अहिलेसम्म दलित समुदायको लागि खासै केही नगरेको समूहको आरोप छ।
गाउँपालिकाको बजेट, नीति तथा कार्यक्रममा दलित सवाल, अधिकारलाई समावेश नगरिएको उनीहरूले बताएका छन्। यसविरुद्धमा सामाजिक आन्दोलन गर्ने तयारी पनि गरिएको समूहले जनाएको छ। स्थानीय तह, प्रदेश सरकार, सङ््घ सरकारलाई दलितको अधिकारका लागि दबाब दिन वडास्तरीय दबाब समूह गठन गरिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here