प्रस, निजगढ, २८ माघ/
निजगढ नगरपालिकाले नगरभित्रका अपाङ्ग, अशक्त र ज्येष्ठ नागरिकहरूलाई बाँड्न ल्याएको ब्याङ्केट (कम्बल) र थर्मस हराएपछि नगरपालिकाको सम्बन्धित फाँटका कर्मचारीहरूबीच भित्रभित्रै आन्तरिक खैलाबैला मच्चिएको छ। नगरपालिकाले अशक्त, ज्येष्ठ नागरिकका लागि ल्याएको कम्बलमध्ये १० थान र थर्मस १२ थान हराएको जानकारी प्राप्त भएको छ। सो सामान हराएपछि खोजी गर्न नगरपालिकामा जडान गरिएको सिसिटिभी क्यामेराले कैद गरेका दृश्यहरू हेर्ने कार्य गरिएको छ। “तीन दिनदेखि सिसिटिभी क्यामेराले कैद गरेका दृश्यहरू हेरिरहेका छौं। अझै पत्ता लागेको छैन। हेर्ने क्रम जारी छ,” निजगढ नपाकी महिला बालबालिका तथा समाज कल्याण शाखाकी सहायक महिला विकास निरीक्षक रोजी श्रेष्ठले भनिन्।
नगरपालिकाले खरीद गरेको उक्त सामान १०१ नम्बरको नगरप्रहरी रहने कोठामा राखिएको बुझिएको छ। विक्रेताबाट खरीद गरी ट्रान्सपोर्टद्वारा ल्याइएका पोकाहरू सिलबन्दी जस्तै रहे पनि घरघरै पुगेर ब्याङ्केट (कम्बल) र थर्मस बाँड्दै जाने क्रममा पछिल्लो समय सामान अपुग भएपछि हराएको हो वा चोरी भएको अथवा पसलेले नै सामान कम पठाएको हो भन्ने कुरा अझै यकीन नभएको नगरपालिकाले जनाएको छ।
सामान खरीद गरी ल्याएको करीब एक महीनापछि सामान अपुग भएको भन्दै विक्रेतालाई नगरपालिकाले जानकारी गराए पनि खबर ढिलो आएको सामान विक्रेताले नगरपालिकालाई प्रतिक्रिया दिएको नगरपालिका कर्मचारी स्रोतले जानकारी दिएको छ। निजगढ नगरपालिकाका सूचना अधिकारी रविन घिमिरेले पनि सामान कम भएकोले खोजी भइरहेको जानकारी दिए।
नगरपालिकाले २०० थान कम्बल खरीद गरेकोमा १८४ जनालाई बाँडिसकेको छ भने अझै ६ थान बचत रहेको छ। प्रतिथान कम्बल मूअकसहित २ हजार ९५० र थर्मस प्रतिथान १ हजारमा निजगढ नपाले खरीद गरेको जनाएको छ।