प्रस, रौतहट, २६ माघ/
खेतमा जङ्गली जनावर प्रवेश नगरोस् भनेर लगाइएको करेन्ट प्रभावित तारबारमा एकजना चोरको मृत्यु भएपछि वृन्दावन नगरपालिका–९ भुसहाका मकसुद आलमलाई प्रहरीले पक्राउ गरी कर्तव्य ज्यानमा मुद्दा चलाएको छ।
माघ २१ गते बुधवार राति गुजरा नपा–७ प्रतापपुर पल्टुवा निवासी चोरी कार्यमा संलग्न २४ वर्षीय रीत महराको आलमले गहुँखेतमा लगाएको तारबार प्रभावित करेन्टबाट मृत्यु भएको थियो। महरा भुसहा निवासी ५५ वर्षीय महमद जानको घरमा चोरी गर्न गएको बेला जानका परिवारजनले हल्ला गरेपछि महरा त्यहाँबाट भागेका थिए। उनलाई टोलवासीले लखेटेको र उनी खेतको बाटो फरार हुन सफल भएका थिए। तर बिहान खेतधनी आलम विद्युतीय तारबार हटाउनका लागि गएको बेला महरा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले शुरूमा सनाखत नभएको र पछि सनाखत भएपछि करेन्ट लागेर मृत्यु भएका महरा विभिन्न चार चरणमा मोबाइल चोरी, सार्वजनिक अपराध, चोरी डाँका र अभद्र व्यवहारको मुद्दाका आरोपी भएको बताएको छ।
मृतक महरामाथि चारवटा मुद्दा रहेको रौतहट प्रहरीले पुष्टि गरेको छ। महराको मृत्यु करेन्ट लागेर भएको कारण विनास्वीकृति खेतमा करेन्टको तारबार राखेको कसूरमा आलमलाई पक्राउ गरिएको र अदालतबाट अनुसन्धानका लागि सात दिनको म्याद थप गरिएको जिप्रका रौतहटले बताएको छ।