प्रस, बारा, २५ माघ/
प्रहरीले बाराबाट स्रोत नखुलेको ४९ लाख नेपाली रुपैयाँसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
जिल्लाको फेटा गाउँँपालिका वडा नं ५ जोतपुर नजीक नेपाल–भारत सीमा क्षेत्रबाट शनिवार दुईजना पक्राउ परेको आइतवार प्रहरीले जानकारी दिएको हो।
अस्थायी प्रहरी चौकी जोतपुरबाट खटिगएको प्रहरी टोलीले शङ्का लागि चेकजाँच गर्दा मोटरसाइकलमा सवार  भारतीय नागरिकद्वय ४९ लाख रुपैयाँ नगदसहित पक्राउ परेको प्रहरी प्रवक्ता गौतम मिश्रले बताए।
पक्राउ पर्नेमा भारत बिहारको मोतीहारी थाना हंसपुर ग्राम पञ्चायत वडा नं १० घोडासहन बस्ने २६ वर्षीय अरविन्द महतो र १४ वर्षीय एक किशोर रहेको प्रवक्ता मिश्रले बताए। कपडाको झोलामा लुकाइछिपाइ ल्याइरहेको एक हजार दरको एक हजार ९२३ थान, ५०० दरको पाँच हजार ७०४ थान, १०० दरको एक हजार २०० थान र रु ५० को १०० थान नेपाली रुपैयाँँसहित नेपाल भित्रिसकेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिएका छन्।
यस कारोबारमा नेपाली समूहको  पनि सहभागिता हुन सक्ने भएकोले चाँडै नै तिनीहरूलाई कानूनी दायरामा ल्याउने प्रउ शाहीले बताए। पक्राउ परेका दुवैजनालाई सम्पत्ति शुद्धीकरण विभाग काठमाडौं पठाउने उनले बताए। पक्राउ परेको हकमा बिगोको दोब्बर र दुर्ई वर्षदेखि १० वर्षसम्मको जेल सजाय हुने व्यवस्था रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here