प्रस, निजगढ, २५ माघ/
निजगढ नगरपालिकाभित्र छाडा छाडिएका घोडा र गधाले नगरवासीलाई हैरानी दिए पनि पीडित स्थानीयहरूको गुनासो स्थानीय तहले नसुनेको स्थानीयहरूले बताएका छन्।
सिलौटा, जातो बिक्री गर्न ल्याउनेहरूले घोडा, गधालाई छाडा छोडिदिने गरेकाले तरकारीबाली लगायत अन्य बाली खाएर किसानहरूलाई समस्या पारिदिएको पीडित तरकारी व्यवसायी तथा किसानहरूले गुनासो गरेका छन्।
छाडा छाडिएका घोडा, गधाले काउली, बन्दाकोभीलगायतका बाली नष्ट गरेको निजगढ–९ का तरकारी व्यवसायी लक्की अलिले जानकारी दिए। गत वर्ष पनि घोडा, गधाले दुःख दिएको बताउँदै आफूहरू त्यसलाई नियन्त्रण गर्न निजगढ नगरपालिका, वडा कार्यालय, सुरक्षा कार्यालयमा पुगी जानकारी गराए पनि रोकथाममा खासै ध्यान नदिएको पीडित स्थानीयहरूले बताए। पछिल्लोपटक गरी ४–५ कट्ठाभन्दा बढी तरकारीबाली घोडा, गधाले खाएर क्षति बनाएको उनीहरूले भने। रातको समयमा छाडा छोडिदिने गरेको उनीहरूको गुनासो छ।
बकैया पुल आसपास अस्थायीरूपमा आउने सिलौटा, जातो बिक्री गर्नेहरू प्रत्येक वर्ष निजगढ आउने र यस्तै समस्या गरिदिने भन्दै पीडितहरूले आक्रोश व्यक्त गरेका छन्। स्थानीयहरूले तीनवटा घोडा र एउटा गघासमेत नियन्त्रणमा लिएर घोडा, गधा धनीहरूलाई जानकारी दिंदासमेत बेवास्ता गर्नाले स्थानीय किसानहरू थप समस्यामा परेका छन्। “अहिले फलेको तरकारी घोडा, गधाले खायो। सम्बन्धित निकायमा जाँदा कुनै सुनुवाइ गर्दैनन्। कसरी घर खर्च टार्ने समस्या थपिएको छ,” पीडित स्थानीयहरू भन्छन्।
यसबारे नगरपालिका, वडा कार्यालय, सुरक्षा निकायहरूले चासो नराखे उनीहरूलाई निजगढबाट खेद्नुपर्ने अधिकांश पीडितहरूको भनाइ छ।
यता यस विषयमा घोडा, गधा धनी, वडाध्यक्षलगायतलाई राखी समस्याको उचित निकास निकाल्ने सशस्त्र प्रहरी सुरक्षा बेस निजगढले जनाएको छ। यसरी आउने घोडा, गधा धनीहरू सशस्त्र सुरक्षा बेस अगाडिको बकैया खोला किनारमा पाल टाँगेर बस्ने गरेका छन्। यसरी छाडा छोडिएका घोडा, गधाहरू राजमार्ग, सडकमा समेत बस्ने गरेका छन्। यसरी सवारीसाधन गुड्ने सडकमा पशु चौपाया रहँदा मोटरसाइकललगायत अन्य सवारीसाधनहरू दुर्घटना हुने गरेका छन्।