प्रस, वीरगंज, २४ माघ/
पर्सा सुनचाँदी व्यवसायी सङ्घको छैटौं साधारणसभा र अधिवेशन शनिवार नगर सभागृह वीरगंजमा सम्पन्न भएको छ।
कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदी व्यवसायीले लाखौं कामदारलाई रोजगार प्रदान गर्दै आएको बताए। उनले वैदेशिक रोजगारमा जाने युवाहरूलाई सङ्घले रोजगार प्रदान गर्दै आएको भएपनि यसमा संलग्न व्यवसायीहरूलाई सरकारले हेर्ने नजरिया गलत रहेको बताए। उनले सरकारले सुनचाँदी व्यवसायीलाई तस्करको रूपमा हेर्ने गरेकोमा दुःख पनि व्यक्त गरे।
अध्यक्ष शाक्यले देशभरिका सुनचाँदी व्यवसायीलाई दैनिक १० किलो सुन सरकारले बिक्री गर्दै आएकोमा अपुग भएको बताउँदै कम्तीमा २५ किलो सुन उपलब्ध गराउनुपर्ने माग राखे। उनले सुनचाँदी व्यवसायीमा एकता आवश्यक भएको र एकताबाट मात्र आफ्नो हकअधिकार सुनिश्चित हुने बताए।
पर्सा शाखाका अध्यक्ष नीरजकुमार सर्राफको अध्यक्षतामा भएको कार्यक्रममा महासङ्घका उपाध्यक्ष डियसरत्न शाक्य, शिवकुमार सर्राफ, महेन्द्ररत्न शाक्य, उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जन, प्रदेश २ का अध्यक्ष रामजी साह, महासचिव प्रवेश सर्राफलगायतले मन्तव्य व्यक्त गरेका थिए।
उद्घाटन सत्रमा पत्रकारहरू कन्हैयालाल केशरी, शेखर छतकुली, चन्द्रभूषण साह, युवराज खड्का र सुनचाँदी व्यवसायी वीरहर्ष शाक्यलाई सम्मान गरिएको थियो। उद्घाटनपछि आजै अधिवेशन हुने र नयाँ नेतृत्वको चयन गरिने बताइएको छ।