प्रस, वीरगंज, २३ माघ/
वीरगंजको पुरानो बसपार्कमा घरेलु आगलागी नियन्त्रणसम्बन्धी सार्वजनिक प्रदर्शन गरिएको छ।
२ नं प्रदेश विपद् व्यवस्थापन गुल्म र आदर्शनगर ग्रीनसिटी सामुदायिक सेवा केन्द्रको आयोजनामा सर्वसाधारणलाई सचेत गराउन घरेलु आगलागी नियन्त्रणसम्बन्धी प्रदर्शनी गरिएको थियो। सो क्रममा सिलिन्डरमा आगो लाग्दा आक्सिजनको सप्लाई बन्द गर्न भिजेको कपडा अथवा कुनै फलामको भाँडाले सिलिन्डरलाई छोपी आगो नियन्त्रण गर्न सकिने विधिबारे जानकारी गराइएको थियो।
यसैगरी, शरीरमा आगो लाग्दा भुइँमा लडीबुडी गरी आगलागी नियन्त्रण गर्न सकिने र खाना पकाउने क्रममा भाँडामा आगो लाग्दा बिर्कोले छोपेर आगो नियन्त्रण गर्न सकिने विधि पनि सिकाइएको थियो। घरेलु आगो नियन्त्रणसम्बन्धी प्रदर्शनमा घरमा फायर फाइटिङ बल मिटर बक्समा राख्दा सोबाट हुने आगलागी नियन्त्रण गर्न सकिने बताइएको थियो।
विद्युत् सर्ट भएर आगो लाग्दा फायर फाइटिङ बलको प्रयोग गर्दा ७० डिग्री तापक्रममा बल विस्फोट हुने र त्यसभित्रको केमिकलले आगो नियन्त्रण हुने विधिबारे जानकारी गराइएको थियो। घरेलु आगलागी नियन्त्रण विधिसम्बन्धी प्रदर्शन कार्यक्रम ग्रीनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष प्रकाश खेतानको अध्यक्षता र जिप्रका पर्साका प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरको प्रमुख आतिथ्यतामा भएको थियो।
कार्यक्रममा प्रहरी निरीक्षकहरू सुमन कार्की, राजेशराज पुरी, सरोज प्रजापति, दीपक साह, ग्रीनसिटीकी कविता खेतान, सामुदायिक सेवा केन्द्र छपकैयाका ग्यासुद्दीन ठकुराई, व्यवस्थित वीरगंज अभियानका दिलीपराज कार्की र पत्रकार महासङ्घ पर्साका सचिव युवराज खड्कालगायतको सहभागिता थियो।