प्रस, पोखरिया, २३ माघ/
जिल्ला उच्चाङ्गल रामदेव कलवार आधारभूत प्राविधिक विद्यालय पोखरियामा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीहरूले शुक्रवार टायर बालेर प्रदर्शन गरेका छन्।
विद्यालय सञ्चालनमा आएको दुई महीनाभन्दा बढी समय बितिसक्दा पनि शौचालय, कक्षाकोठाको सफाइ नगरिएको र शिक्षकहरू समयमा नआउने गरेको भन्दै विद्यार्थीहरूले विरोध गरेका थिए। विद्यार्थीहरूको विरोधपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं पोखरिया नपाका नगरप्रमुख दीपनारायण रौनियार, वडाध्यक्ष लक्ष्मण साह कानू, विद्यालयका प्रअ व्यास महतो, क्याम्पसका प्रअ उमेश चौहानलगायतले विद्यार्थीहरूलाई एक साताभित्र समस्या समाधान गर्ने आश्वासन दिए।
सम्बन्धित व्यक्तिहरूबाट एक साताको समय माग भएपछि विद्यार्थीहरूले सो अवधिसम्मको लागि आन्दोलन स्थगित गरेका छन्।
उनीहरूले एक साताभित्र विद्यार्थीहरूको माग सम्बोधन नभए पुनः आन्दोलन गर्ने चेतावनी दिए।
विद्यार्थीहरूले शौचालयमा पानीको व्यवस्था नभएको, सरसफाइ प्रभावित भएको, कक्षा ११ को कोठामा ९० जना विद्यार्थीलाई अध्ययन गराइएको र शिक्षकहरू समयमा नआउँदा पठनपाठन प्रभावित भएको बताए। उनीहरूले आन्दोलनपूर्व यसबारेमा ध्यानाकर्षण गराउँदा सुनवाइ नभएकोले विरोधमा उत्रिनुपरेको बताए।