प्रस, ठोरी, २२ माघ/
ठोरी गाउँपालिका–३ स्थित घट्टेखोलामा झोलुङ्गे पुल बन्ने भएको छ। बिहीवार ठोरी गापाका अध्यक्ष पद्मलाल श्रेष्ठले पुलको शिलान्यास गरेका थिए।
चितवन राष्ट्रिय निकुञ्ज किनारमा पर्ने उक्त खोलामा यसअघि रहेको काठको पुल जीर्ण हुँदा स्थानीयलाई सास्ती हुने गरेको थियो। साबिक निर्मलबस्ती गाविसको वडा नं ३ र ४ जोड्ने उक्त खोलामा पुल नहुँदा सालघारी र देवीथान गाउँका स्थानीयवासी र नेरामावि ओडारमा अध्ययन गर्ने नयाँबस्ती र ब्रह्मनगरका विद्यार्थीहरूलाई आवतजावतमा समस्या हुने गरेको थियो।
सङ्घीय सरकारको करीब रु ३० लाखको लागतमा निर्माण हुने पुलको लम्बाइ ३२ मिटर र चौडाइ डेढ मिटर रहेको उपभोक्ता समितिका सदस्य होम श्रेष्ठले जानकारी दिए। पुलको चौडाइ डेढ मिटर र संरचना बलियो हुने भएकोले सो पुलबाट मोटरसाइकल र तीन पाङ्ग्रे अटोरिक्शासमेत सजिलै आवतजावत हुन सक्ने अध्यक्ष श्रेष्ठले बताए।
यस्तै, अध्यक्ष श्रेष्ठले बिहीवार ठोरी गापा–३ रामनगर, नयाँबस्तीमा निर्माण हुन लागेको गणेश मन्दिरको पनि शिलान्यास गरे। जीर्ण मन्दिर निर्माण गर्न मङ्सिरमा महायज्ञ गरिएको थियो। मन्दिर निर्माण गर्न ठोरी गापाले रु ३ लाख बजेट विनियोजन गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here