प्रस, सिराहा, १९ माघ/
    प्रधानमन्त्री केपीशर्मा ओलीले अब मुलुकमा मानिसको हत्या गर्ने आन्दोलन सम्भव नभएको बताएका छन्। सिराहाको लहानमा सोमवार शहीद हेमनारायण यादवको १७औं स्मृतिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।
    “मुलुकमा अब मान्छे मार्ने आन्दोलन हुन सक्दैन। त्यसैले त्यस्तो सपना नदेख्दा हुन्छ,” प्रम ओलीको कथन थियो।  मान्छे मारेर स्वार्थसिद्ध गर्ने धृष्टता कसैले पनि नगर्न आग्रह गर्दै ओलीले संसद् विघटन संवैधानिक भएको र लोकतन्त्र तथा स्थिरताको पक्षमा भएको दाबी गरे। “संसद् विघटनलाई असंवैधानिक भन्दै तर्क–वितर्क गरिरहेका छन्, संसद् विघटन संवैधानिक नै हो, त्यसैले अब विघटित प्रतिनिधिसभा पुनस्र्थापना हुने, पार्टी फुटाउने, फुटेको पार्टी विभिन्न तत्वसँग मिलेर, जोडघटाउ गरेर, किनबेच गरेर नक्कली सरकार खडा गर्ने काम हुन सक्दैन।” नयाँ जनादेशबाट सरकार बन्नुपर्ने उनको भनाइ थियो।
    प्रधानमन्त्री ओलीले अगाडि थपे, “मुलुकलाई अस्थिरतामा धकेल्न खोज्ने र जनतालाई भ्रममा पार्न खोज्नेहरूले संसद् विघटन असंवैधानिक भनिरहेका छन्, उनीहरूले भनेजस्तो संसद् विघटन असंवैधानिक होइन, संवैधानिक हो। मुलुक अब पछाडि फर्किंदैन, निर्धारित मितिमैं निर्वाचन हुन्छ।”
    नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका ओलीले जनतालाई अल्मलाउने र भ्रममा पार्ने षड्यन्त्रका विरुद्ध गाउँ–गाउँमा जान नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्।  “नेपालीले देखेको समृद्धिको सपना यही सरकारले पूरा गर्नेछ, हाम्रो ध्यान समृद्धि, विकास र सुशासनमा केन्द्रित छ, त्यसैले गरीबी, बेरोजगारी अन्त्य गरी मुलुकलाई समृद्ध बनाउने योजनाका साथ हामी अघि बढेका छौं, तपाईंहरू धैर्य गर्नुस्, तपाईंहरूको समृद्धिको सपना यही सरकारले पूरा गर्छ,” ओलीको कथन थियो।
    व्यावहारिकरूपमा मुलुकको गरीबी र बेरोजगारी हटाउन सरकार दृढताका साथ अघि बढेको बताउँदै प्रधानमन्त्री ओलीले बेरोजगार युवालाई स्वरोजगार बनाउन प्रधानमन्त्री स्वरोजगार योजना, युवा स्वरोजगार, प्रत्येक स्थानीय तहमा स्वरोजगार अधिकारी नियुक्ति गर्ने जस्ता कार्य शुरू भएको बताए।
    प्रम ओलीले  प्रदेश नं २ मा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पूर्व–पश्चिम रेलमार्ग, द्रुतमार्ग निर्माण, औद्योगिकग्राम स्थापना, धार्मिकस्थलको संरक्षण र विकास, मेडिकल कलेज साथै विश्वविद्यालयको स्थापना, सिंचाइ पूर्वाधार विकास, कलकारखाना स्थापनालगायत विकास निर्माणका योजना विस्तारको गृहकार्य अगाडि बढाइएको बताए।
    तराई–मधेस भएर बग्ने ठूलठूला नदी र  कोसी–कमला डाइभर्सनलगायत सिंचाइका आयोजना कार्यान्वयनतर्फ  अग्रसर हुने उनले जोड दिएका थिए।
    कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले देशलाई अस्थिरतामा धकेल्न खोज्ने प्रवृत्तिका नेताहरूका कारण मुलुकमा यस्तो अवस्था आएको हुँदा ताजा जनादेश लिने निर्णय लिएर प्रधानमन्त्रीले देशलाई अस्थिरतामा जानबाट जोगाएको बताए। प्रधानमन्त्रीले संवैधानिक अधिकार प्रयोग गरेको जिकिर गर्दै मन्त्री रायमाझीले प्रचण्ड र नेपालहरूले चाहेजस्तो प्रधानमन्त्रीलाई डमी मात्रै बनाउने हो भने मुलुकमा ६/६ महीनामा सरकार परिवर्तन भई अस्थिरता सृजना हुने तर्क गरे। “सरकारमा बसेकाहरूले जनता र राष्ट्रका लागि काम गर्नेभन्दा पनि प्रचण्ड र नेपालहरूलाई रिझाउँदैमा दिन कट्ने र उनीहरूलाई रिझाउन नसके सरकार भङ्ग हुने अवस्था आउन सक्छ,”  मन्त्री रायमाझीको भनाइ थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here