प्रस, सप्तरी, १९ माघ/
सप्तरी प्रहरीले पाँच वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३८ वर्षीय बुबालाई सोमवार पक्राउ गरेको छ। आफ्नै घरकोठामा गत शुक्रवार नाबालिका छोरीलाई बलात्कार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालय, सप्तरीमा आइतवार उजूरी दिएकी थिइन्।
मादक पदार्थ सेवन गरी उनले छोरीलाई बलात्कार गरेका थिए।
पीडित बालिकाको गजेन्द्रनारायण सिंह अस्पतालमा आइतवार स्वास्थ्य परीक्षण गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए। स्वास्थ्य परीक्षणपछि आज उजूरी दर्ता गरेर आरोपीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जनाइएको छ।