प्रस, वीरगंज, १८ माघ/
पहिलो चरणको खोप कार्यक्रम अन्तर्गत पर्सा जिल्लामा आइतवारसम्म १५ सय ५० जनालाई खोप लगाइएको स्वास्थ्य कार्यालय पर्साका प्रमुख कामेश्वर चौरसियाले बताए ।
माघ १४ गतेदेखि नारायणी अस्पतालबाट शुरू भएको कोरोनाविरुद्धको पहिलो चरणको खोप अहिले तीन स्थानबाट लगाइँदै छ । सरकारी अस्पतालबाट लगाउने निर्णय भएपनि अहिले मन्त्रालयको आदेशमा शनिवारदेखि नेशनल मेडिकल कलेजबाट पनि खोप दिन शुरू भएको प्रमुख चौरसियाले बताए ।
यसैगरी, आइतवारदेखि पोखरिया अस्पतालबाट पनि खोप दिन शुरू भएको छ । पहिलो चरणमा चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाइकर्मी, वारुणयन्त्र, एम्बुलेन्स चालकलाई खोप दिने नीति रहे पनि पर्सा जिल्लामा कैदीबन्दी र वृद्धाश्रमका वृद्धवृद्धाहरूलाई पनि खोप दिन शुरू गरिएको स्वास्थ्य कार्यालयका प्रमुख चौरसियाले जानकारी गराए । आइतवारदेखि वीरगंज कारागारका कैदीबन्दीहरूलाई खोप दिन शुरू गरिएको प्रमुख चौरसियाले बताए । वीरगंज कारागारमा महिला तथा पुरुष गरी १२ सय ५० जना कैदीबन्दी छन् ।
पहिलो चरणमा पर्सा जिल्लामा ५ हजार खोप दिने लक्ष्य रहेकोमा आइतवारसम्म १५ सय ५० जनालाई खोप दिइएको स्वास्थ्य प्रमुख चौरसियाले बताए । उनले माघ २३ गतेसम्म पहिलो चरणको खोप सम्पन्न गर्ने लक्ष्य रहेको र सो लक्ष्य पूरा गर्न नारायणी अस्पतालमा थप खोपकेन्द्रको व्यवस्था गरिने बताए ।