पस, सेढवा, १७ माघ/
    पटेर्वासुगौली गाउँँपालिका–५ निचुटाको खेलमैदानमा शनिवारदेखि प्रथम पटेर्वासुगौली गोल्डकप–२०७७ शुरू भएको छ।
    समता समाज नेपाल र पटेर्वासुगौली गापा–५ निचुटाको आयोजनामा गोल्डकप प्रतियोगिता शुरू भएको हो। प्रतियोगिताको उद्घाटन गर्दै गापा अध्यक्ष हरिनारायण चौधरीले ग्रामीण युवाहरूमा कुलत तथा विकृति बढ्दै गएका र खेलप्रति युवाको चाहना घट्दै गएको हुँदा खेलप्रति युवाको आकर्षण बढाउन गोल्डकप आयोजना गरिएको बताए।
    उनले खेलको माध्यमले राष्ट्र तथा समाजको नाम उच्च गर्न सकिने तथा युवाहरूलाई स्वास्थ्य र तन्दुरुस्त राख्ने भएकाले यो गोल्डकपमा पालिकाले सहयोग गरेको बताए। पालिकाभित्र रहेका युवाहरूलाई विभिन्न खेलको सम्बन्धित प्रशिक्षण गराइ छनोट गरी एकवटा मात्र टीम निर्माण गरिने भावी योजना रहेको अध्यक्ष चौधरीले बताए। अध्यक्ष चौधरीले रेफ्री काजी चौधरीलाई बल हस्तान्तरण गरी खेलको उद्घाटन गरेका थिए।
    उपाध्यक्ष ममता महतोले खेलकूदको विकासका लागि गाउँपालिकाको कार्यालयमा छुट्टै खेलकूद शाखा राख्ने गाउँपालिका धारणा राखिन्। आयोजक संस्थाका अध्यक्ष मधुकान्त चौधरीको सभापतित्वमा भएको कार्यक्रममा वडाध्यक्ष फरमान मियाँ, विजय गैरे, मोतीलाल साहले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
    शनिवार वसन्तपुर युनाइटेड चितवन र चिडियादह पूmटबल क्लब रौटहटबीच भएको खेलमा टाइब्रेकरमा चितवनले जीत हासिल गरेको थियो। तोकिएको समयावधिमा दुवै टीमतर्फबाट २/२ गोलको बराबरीमा खेल टुङ्गिएको थियो। आजको म्यान अफ दि म्याच चितवनका गोलकीपर रञ्जीत अर्याललाई घोषित गरियो।
    प्रतियोगितामा १२ वटा टीमको सहभागिता रहने संस्थाका सदस्य काजी चौधरीले बताए। प्रतियोगितामा पर्साका ५, चितवनका २, बारा, रौतहट, सर्लाही, महोत्तरी र मकवानपुरका १/१ वटा टीमको सहभागी रहनेछ। गोल्डकपको विजेता टीमलाई नगद रु २ लाख, उपविजेता टीमलाई रु १ लाख र ट्रफी प्रदान गरिने सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष मधुकान्त चौधरीले बताए।
    त्यस्तै, प्रत्येक दिनको खेलमा म्यान अफ दि म्याच हुने खेलाडीलाई नगद रु दुर्ई हजार, बेस्ट गोलकीपरलाई नगद रु पाँच हजार, बेस्ट डिफेन्डर, बेस्ट मिडफिल्डर, सर्वाधिक गोल गर्ने खेलाडी, बेस्ट कोचलाई जनही रु पाँच हजार, खेलको म्यान अफ दि सिरिज हुने खेलाडीलाई नगद १० हजार पुरस्कार प्रदान गरिने कार्यक्रममा जानकारी गराइएको थियो। गोल्डकपको अनुमानित बजेट रु २० लाख बताइएको छ।
    आइतवारको खेल वीरगंज युनाइटेड र पूmटबल सङ्घ बाराबीच हुने आयोजकले बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here