प्रस, वीरगंज, १५ माघ/
कालिकामाई गाउँपालिका–२ का राजबली महराले किर्ते गरी नागरिकता लिएको भन्दै भान्जाविरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा उजूरी गरेका छन्।
महराले भारत, बिहार, पूर्वी चम्पारण, मोतीहारी जिल्ला, अनन्दीगढ बेलवा निवासी भान्जा वसन्त महरा चमारले विवरण ढाटेर हजुरबुबालाई बुबा बनाइ नागरिकता लिएको भन्दै उजूरी गरेका हुन्।
कालिकामाई गापा–२ निवासी स्व धनराज महरा चमारकी एकमात्र छोरी राधिकादेवी चमइन भएको र उनको भारतमा विवाह भएकोमा हजुरबुबा स्व धनराज महरा चमारको नामबाट नागरिकता लिएको भन्दै उजूरी गरेका हुन्।
उजूरीकर्ता राजबली महरा स्व धनराजको भाइका छोरा हुन्। अंशसम्बन्धी विवाद चलेपछि उनले यो रहस्योद्घाटन गर्दै प्रशासनमा उजूरी दिएपछि अहिले यसबारेमा अनुसन्धान शुरू भएको छ। उजूरीकर्ता महरा र किर्ते जालसाज गरी नागरिकता लिएका आरोपी वसन्त एकै राजनीतिक दलसँग आबद्ध भएकाले कारबाई प्रक्रिया अगाडि नबढाउन राजनीतिक दबाब शुरू भएको छ।
जिल्ला प्रशासन कार्यालय, पर्सामा यो मुद्दा भदौ ४ गते दर्ता भएपछि अहिले यसबारेमा राजनीतिक र सामाजिकरूपमा मिलाउने प्रयत्न पनि शुरू भएको छ।