प्रस, निजगढ, १४ माघ/
बुधवार देशभर कोरोना भाइरसविरुद्धको खोप अभियानका रूपमा लगाउन शुरू गरिएसँगै बारामा पनि सो खोप लगाउन शुरू भएको छ। पहिलो चरणमा अग्रपङ्क्तिमा खट्ने स्वास्थ्यकर्मी, सफाइकर्मी, शव व्यवस्थापनमा खट्ने नेपाली सेना, शववाहन चालक, एम्बुलेन्स चालकलाई सो खोप दिइने जनाइएको छ।
बाराको सदरमुकाम कलैयास्थित जिल्ला अस्पतालमा औपचारिक कार्यक्रम गरी कोरोनाविरुद्धको खोप लगाउन शुरू गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि एवं बाराका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल थिए। कार्यक्रममा कलैया उपमहानगरपालिका प्रमुख राजेशराय यादव, स्वास्थ्य कार्यालय बाराका निमित्त प्रमुख रामनरेश यादव, जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख दीपेन्द्र शाहीलगायत जिल्लाका सुरक्षा प्रमुखहरूको सहभागिता थियो।
बारामा हाल २६६० डोज कोरोना भाइरसविरुद्धको खोप प्राप्त भएको स्वास्थ्य कार्यालय कलैयाले जानकारी दिएको छ। सो खोप दुईपटक लगाउनुपर्ने जनाउँदै पहिलो खोप लगाउने व्यक्तिले २८ दिनमा दोस्रो खोप लगाउनुपर्ने स्वास्थ्य कार्यालय बाराका निमित्त प्रमुख यादवले जानकारी दिए। बारामा पहिलो खोप कलैया जिल्ला अस्पतालका चिकित्सक गौरव महतोले लगाएका थिए। उक्त खोप लगाउँदा अन्य खोप जस्तै अहिले आफूलाई सामान्य लागेको उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here