प्रस, वीरगंज, १४ माघ/
ठाकुर राम बहुमुखी क्याम्पस, वीरगंजमा निर्माण हुन लागेको अडिटोरियमको विषयलाई लिएर विद्यार्थीहरूले विवाद शुरू गरेका छन्।
क्याम्पसमा निर्माण हुने अडिटोरियमको लागि प्रदेश सरकारले रु ३० लाख विनियोजन गरेकोमा केही व्यक्तिले कमिशनको भरमा गैरउपभोक्ता समिति गठन गरेको भन्दै विद्यार्थीहरूले विवाद गरेका हुन्। जसपा आबद्ध समाजवादी विद्यार्थी युनियनका प्रदेश सदस्य एवं जिल्ला सदस्य राजुराज गिरीले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएर अडिटोरियम निर्माणका लागि रु ३० लाख प्रदेश सरकारबाट ल्याएकोमा पार्टीकै केही व्यक्तिले कमिशनको लागि गैरविद्यार्थीहरूलाई उपभोक्ता समितिमा राखेर काम गराउन खोज्दा विवाद भएको बताए। उनले यसबारे मुख्यमन्त्रीको ध्यानाकर्षण गराइएको र समाजवादी विद्यार्थी युनियनको भेला बोलाएको बताए। उनले वडा कार्यालयको सिफारिशमा शहरी विकास तथा भवन कार्यालयमार्फत उपभोक्ता समिति गठन भएकोमा आपत्ति जनाए।
ठाराब क्याम्पसमा निर्माण हुने अडिटोरियमको लागि विद्यार्थी सङ्गठनहरूबाटै उपभोक्ता समिति निर्माण गर्नुपर्ने उनले माग गरे। मुख्यमन्त्रीले पनि सरोकारवाला उपभोक्ता राखेर समिति बनाउन कार्यालयका प्रमुख राजेन्द्र साहलाई निर्देशन दिएको उनले बताए। गैरविद्यार्थीहरूको सहभागितामा बनाइएको उपभोक्ता समितिमार्फत काम गराए ठूलो विवाद हुने उनले चेतावनी दिए।