प्रमोद यादव, पंचगावाँ, ११ माघ/
पर्सा जिल्लाका १४ वटा पालिकामध्ये अहिले पनि केही पालिकाले सामाजिक सुरक्षा भत्ता वितरणमा चासो देखाएका छैनन्।
वीरगंज महानगरपालिकासमेतले सामाजिक सुरक्षा भत्ता वितरण गरेको छैन। प्रदेशको एकमात्र महानगरपालिकाले अहिलेसम्म सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसक्दा यहाँका भत्ता बुझ्नेहरू मारमा परेका छन्। कात्तिक मसान्तसम्म पहिलो चौमासिक भत्ता उपलब्ध गराउनुपर्नेमा माघको दोस्रो साता शुरू हुँदा पनि वितरण हुन सकेको छैन।
वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीले सामाजिक सुरक्षा भत्ता वितरणमा ढिला हुनुका दुईवटा कारण भएको बताए। उनले पहिलो कारण रकम उपलब्ध नहुनु र अर्को सबै वडाले समयमा विवरण नपठाउँदा ढिला भएको बताए। नगरप्रमुख सरावगीले अहिले सम्पूर्ण विवरण आइसकेको र रकम पनि प्राप्त भइसकेको बताउँदै अविलम्ब सामाजिक सुरक्षा भत्ता वितरण गरिने प्रतीकलाई बताए।
प्रत्येक वर्ष सामाजिक सुरक्षा भत्ताको विवरण सङ्कलन गरिने र सो विवरण मन्त्रालयमा पठाएपछि सोहीअनुरूप बजेट आउँछ। विवरण पठाउन ढिला भएको हुँदा बजेट आउन ढिलो भएको उनको भनाइ छ। सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सामाजिक सुरक्षा भत्ता वितरण बैंकिङ प्रक्रियामार्फत गर्न निर्देशन गरेको छ। यसअघि सामाजिक सुरक्षा भत्ता वितरण हुँदा अनियमितता भएपछि बैंकमा अनिवार्यरूपमा खाता सञ्चालन गरेर भत्ता वितरण गर्न मन्त्रालयले निर्देशन गरेको हो। यही कारणले प्रत्येक वर्षको पहिलो चौमासिकमा पुरानोको  नवीकरण गर्ने, नयाँ विवरण सङ्कलन गर्ने, बैंकमा खाता खोल्ने जस्ता कारणले ढिला हुने गरेको हो।
अहिले पनि पटेर्वासुगौली, सखुवाप्रसौनी, धोबिनी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्न सकेको छैन। विवरण अद्यावधिक नभएको कारण वितरण हुन नसकेको सो पालिकाले जनाएको छ। बहुदरमाई नगरपालिकाको वडा नं ६ मा पनि सामाजिक सुरक्षा भत्ता वितरण हुन सकेको छैन। नगरप्रमुख नितेन्द्र साहले सबै वडामा भत्ता वितरण भएपनि एउटा वडाको विवरण अद्यावधिक नभएकोले वितरण हुन नसकेको तर अविलम्ब वितरणको तयारीमा रहेको बताए।
जीराभवानी गापाले बैंकिङ कारोबारबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्दा अझ समय लाग्ने देखेर नगद वितरण गरेको छ। पहिलो चौमासिक किस्ता नगद वितरण गरिएको र बैंकिङ प्रक्रिया पनि जारी रहेको सो गापाले जनाएको छ। सामाजिक सुरक्षा भत्ता वितरणमा ढिला भएपछि एकल महिला, अपाङ्ग, दलित, ज्येष्ठ नागरिकहरूलाई समस्या भएको छ। भत्ताकै भरमा जीविकोपार्जन गर्ने ग्रामीण क्षेत्रका मानिसलाई समस्या भएपछि जीराभवानी गापाले नगद वितरण गरेको हो।
पर्सा जिल्लामा सबैभन्दा पहिले पोखरिया नपाले सामाजिक सुरक्षा भत्ता छठअगावै वितरण गरेको थियो भने सबैभन्दा ढिलो ठोरी गापाले भर्खरै वितरण गरेको छ। बैंकिङ प्रक्रिया सम्पन्न भएपछि सामाजिक सुरक्षा भत्ता वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णलाल श्रेष्ठले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here