प्रस, निजगढ, १० माघ/
पर्सा राष्ट्रिय निकुञ्जको जङ्गलबाट चितुवा निस्किएर सडक पार गर्दा मोटरसाइकलमा सवार दुईजना आत्तिएर लड्न पुग्दा घाइते भएका छन्।
घाइते हुनेमा बारा विश्रामपुर गाउँपालिका–१ घर भई हाल वीरगंज बस्दै आएका २० वर्षीय मुन्ना पण्डित रहेका छन्।
वीरगंजबाट शनिवार हेटौंडामा लोकसेवा आयोगको परीक्षा दिन मोटरसाइकलमा जाँदै गर्दा महेन्द्र राजमार्गको पथलैया–अमलेखगंज सडकखण्डमा बिहान ७ बजे पश्चिमबाट पूर्वतर्फ एक्कासि चितुवाले सडक पार गर्दा आफूहरू आत्तिएर सडक तल मोटरसाइकल झर्दा लडेर घाइते भएको पण्डितले फोन सम्पर्कमा बताए। हामी केही क्षण बेहोश पनि भएछौं। केही समयपछि होश खुलेछ। त्यतिखेरसम्म चितुवा सडक पार गरी जङ्गलभित्र गइसकेको उनले बताए। मोटरसाइकलसँगै आफूहरू लडेकाले अनुहार सडक किनारको भुइँमा घस्रिएर चोट लागेको उनले बताए। मोटरसाइकलमा सामान्य क्षति भएको बताउँदै आफू चाहिं परीक्षा छुट्ने डरले सोही सडक भएर हेटौंडा जाने अर्को मोटरसाइकलमा सहयोग मागी चढेर परीक्षा दिन गएको बताए। साँझ पण्डितसँग सम्पर्क गर्दा अहिले आफू बसमा चढेर वीरगंज फर्कंदै गरेको उनले जानकारी दिए। सो घटनाबारे पर्सा राष्ट्रिय निकुञ्जका रेन्जर दीपक तिवारीसँग बुझ्दा सो घटना सत्य भएको बताए।
त्यसैगरी, शनिवार बिहान अमलेखगंजस्थित नेपाल आयल निगमको दक्षिणतर्फको सडकनजीकको जङ्गलमा शौच गर्न गएका अन्दाजी ४५ वर्षका पुरुषलाई बाघले आक्रमण गरी जङ्गलतर्फ लगेको हल्ला चलेको थियो।
सोही हल्लाको आधारमा निकुञ्जको हात्तीसारबाट चारवटा हात्तीमा निकुञ्जका रेन्जर दीपक तिवारीको नेतृत्वमा निकुञ्जका सेना, प्रहरीसहितको टोलीले खोजी कार्य गरेको थियो। घटना भएको भनिएको सम्भावित स्थानबाट निकुञ्जको वनक्षेत्रमा खोजी गर्दा बाघ वा हिंस्रक जनावरको पाइला, माडिएका बोटबिरुवाको बुट्यान केही सङ्केत नभेटिएको निकुञ्जका रेन्जर तिवारीले जानकारी दिए।
पछिल्लोपटक बाघ, चितुवा राजमार्गको निजगढ–पथलैया–अमलेखगंज सडकनजीकै देखिन थालेपछि त्यस सडक भएर आवतजावत गर्ने मोटरसाइकल, जीप, कारमा सवार हुनेहरूमा जनावरको त्रास बढेको छ। त्यस सडक क्षेत्रमा जङ्गली जनावरको आक्रमणबाट क्षति हुन सक्ने घटनालाई बेलैमा उचित ध्यान दिई पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभारको तर्फबाट सुरक्षात्मक उपाय अवलम्बन गर्नुपर्ने चालक, यात्रुलगायत स्थानीयहरूको आवाज उठेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here