प्रस, वीरगंज, ९ माघ/
ठाकुर राम बहुमुखी क्याम्पस इतिहास शिक्ष्Fण विभागको आयोजनामा ‘पृथ्वीनारायण आजको सन्दर्भ’ विषयक एक दिने प्राज्ञिक गोष्ठी सम्पन्न भएको छ।
ठाराब क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा विभागीय प्रमुख प्राडा वासुदेवलाल दासले पृथ्वीनारायण शाहको जीवनीबारे कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्रमा उनले पृथ्वीनारायण शाहको योगदानबारे चर्चा गरेका थिए।
डा विश्वम्भर शर्माले पृथ्वीनारायण शाहले देखाएको बाटो र दिव्योपदेशको पालना भएमा देशमा कहिले राजनीतिक सङ्कट नआउने बताए। उनले पृथ्वीनारायण शाहको दिव्योपदेश ‘हामी दुई ढुङ्गाबीचका तरुल हौं’ आज पनि समय सान्दर्भिक रहेकोमा जोड दिए।
त्यस्तै, विनोद गुप्ताले पृथ्वीनारायण शाहले त्यति बेलाको नेपालमा देखाएको शासकीय कुशलता अहिलेका नेताले अनुसरण गरेमा उनीहरूको राजनीतिक कुशलता बढ्ने बताए।
त्यसैगरी, प्राध्यापक देवेन्द्र मिश्रले ‘नेपाल चार जात छत्तीस वर्णको फूलवारी’ उपदेशमाथि अहिलेको सन्दर्भमा टीका–टिप्पणी गरे। उनले नेपाल निर्माणको क्रममा पृथ्वीनारायण शाहले दिएको उपदेशमा चार जातले मात्र नेपालमा शासन गर्न पाउने र बाँकी जातलाई मान्यता नदिएको बताए। सोही आधारमा आज पनि शासनमा भेदभाव भइरहेको उनको भनाइ थियो।
निमित्त क्याम्पस प्रमुख सुरेशप्रसाद कुशवाहाको सभापतित्वमा भएको कार्यक्रममा डा दीपक शाक्य, उपप्राध्यापक सच्चिदानन्द सिंह, डा राजेन्द्र ठाकुर, कुर्बान हवारीलगायतको उपस्थिति थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here