प्रस, परवानीपुर, ९ माघ/
स्थानीय प्रशासन तथा वाणिज्य कार्यालय सुस्त हँुदा बजारमा खाद्यान्न सामग्रीको मूल्य बढेको छ।
तीन महीनायता बजारमा अस्वाभाविकरूपमा महँगी बढेको उपभोक्ताहरूले बताएका छन्। चामल किलोमा ५ रुपैयाँ बढेको छ भने खानेतेल ५० रुपैयाँसम्म बढेको उपभोक्ताहरूको भनाइ छ। कोरोना महामारीपछि दैनिक उपभोग्य सामग्रीको मूल्य अचाक्ली बढेपछि उपभोक्तामाथि आर्थिक भार थपिएको छ।
आपूर्ति तथा वाणिज्य कार्यालय र जिल्ला प्रशासन कार्यालय पर्साद्वारा हुने मौसमी अनुगमनले महँगीलाई खासै नियन्त्रण गर्न नसकेको उपभोक्ताहरूको भनाइ छ। वीरगंज–१२ मुर्लीका उपभोक्ता राजकिशोर गुप्ताले केही पसललाई लक्ष्य गरी कहिलेकाहीं मात्र अनुगमन हुने भएकोले त्यसबाट खासै बजारमा महँगी नरोकिएको बताए। उनले उद्योगीले नै उपभोग्य सामानको दाम बढाएपछि बजारमा महँगो दाममा बिक्री भइरहेको र त्यसको मार उपभोक्तामाथि परिरहेको उनले बताए।
यता, व्यवसायीहरूको अनुसार  भारतमा किसान आन्दोलनको कारण धानको मूल्य बढेकोले सोको प्रभाव चामलको मूल्यमा देखिएको हो। वीरगंजका उद्योगी सुरेश रूँगटाले भारतबाट पहिले प्रतिक्विन्टल १६ सय भारुमा धान आयात भइरहेकोमा अहिले साढे १८ सय भारुमा आयात भइरहेकोले चामलमा मूल्यवृद्धि भएको बताए। त्यसैगरी, तेस्रो मुलुकबाट भित्रिने भटमास, सूर्यमुखीको दाना र तोरीको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढेकोले तेलको दाममा पनि वृद्धि भएको रूँगटाले  बताए।
रूँगटाका अनुसार उद्योगले सोयाबिन तेल लिटरको रु १८० देखि १९० मा बिक्री गरिरहेको छ। सूर्यमुखी तेल लिटरमा रु १० ले बढेको छ भने तोरीको तेल लिटरमा रु २० बढेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here