प्रस, सेढवा, ९ माघ/
जिल्ला प्रशासन कार्यालय, पर्साले ग्रामीण क्षेत्रका सेवाग्राहीहरूको लागि सुपौलीमा इलाका प्रशासन कार्यालय स्थापना गरेपछि ग्रामीणवासीले झनै कठिनाइ भोग्नुपरिरहेको गुनासो गरेका छन्।
यातायातको व्यवस्था नभएको कारण ठोरीवासीलाई इप्रका सुपौली पुग्न निकै कठिनाइ भएको ठोरी गाउँपालिका–२ तीनघरेका ढकबहादुर कुँवरले बताए। वीरगंज–ठोरी चल्ने बस जीराभवानी गाउँपालिका–२ सेढवा पुग्छ तर सेढवाबाट सुपौली पुग्न पाँच किलोमिटर पैदल यात्रा गर्नुपर्छ कुँवरले बताए।
इप्रका सुपौलीमा अटोरिक्शा रिजर्भ गरेर जानुपर्दा महँगो भाडा तिर्नुपरेको उनले बताए। सो स्थानबाट काम गराएर फर्किंदा दिनभरि अटोरिक्शाको प्रतीक्षा गर्नुपरेको उनले बताए।
जीराभवानी गाउँपालिका–२ सेढवाका विशालदास थारूले सातामा एक दिन मात्र इप्रका सुपौलीले सेवा दिने गरेकोले सेवाग्राहीहरूलाई समस्या झेल्नुपरेको गुनासो गरे। उनले सातामा एकपटक कामकाज हुने हँुदा निकै भीड हुने गरेको उनले बताए। त्यस्तै, काम गराउन साताभरि कुर्नुपरेको उनको गुनासो थियो।
पटेर्वासुगौली गाउँपालिका–३ निवासी भागवत चौधरीले जिल्ला प्रशासन कार्यालय, पर्सामा एक दिनमा काम नभए भोलिपल्ट पनि काम गराउन सकिन्छ तर यहाँ सोही दिन काम नभए एक साता पर्खिनुपर्ने बताए। सो स्थानमा बास बस्न होटल–लजको पनि व्यवस्था नरहेको उनले बताए।
नेपालका अन्य ठाउँ तथा भारतमा रोजगार गरिरहेकाहरू नागरिकता बनाउन आउँदा उनीहरूको समय खेर जाने गरेको साथै कागजात अन्य जिल्लाबाट ल्याउन यातायातको सुविधा नहुँदा काममा झनै ढिलाइ हुने गरेको सेवाग्राहीहरूले बताए।
जिल्ला प्रशासन कार्यालय, पर्साबाट सातामा एक दिन खट्दै आएका शाखा अधिकृत विनयकुमार श्रीवास्तवले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले इप्रका सुपौलीको लागि कर्मचारी नपठाउँदा समस्या भएको बताए। उनले सेवाप्रवाहका लागि जिल्लाबाट सातामा एक दिन टोली जाने गरेको बताए।
कार्यालयमा अन्य दिन नागरिकतासम्बन्धी कागजात मिलाउने काम भइरहेको अधिकृत श्रीवास्तवले बताए। सेवा प्रभावकारी बनाउन चारैवटा पालिकाको छुट्टै लाइन बनाउनुको साथै सेवाग्राहीहरूलाई टोकन प्रणाली लागू गरिएको अधिकृत श्रीवास्तवले बताए।