प्रमोद यादव, पचगावाँ, ७ माघ/
मौसम परिवर्तन भएसँगै पर्साको ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाहरूमा बिरामीहरूको चाप बढेको छ।
कोल्ड डायरिया, ज्वरो, श्वासप्रश्वाससम्बन्धी रोग, दमा, रूघाखोकी, छाला चिलाउने, एलर्जीका बिरामीहरूको सङ्ख्या बढेको निचुटा प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख प्रमोदकुमार कर्णले बताए।
विशेषगरी गरीब, दलित परिवारका सदस्यहरू बिरामी भएको प्रमुख कर्णले बताए। खेतबारीमा काम गर्ने, मजदूरी गर्ने तथा बालबालिका र ज्येष्ठ नागरिकहरू चीसोले गर्दा बिरामी हुने गरेका छन्।
पर्साका स्थानीय तहहरूले प्रत्येक वर्ष दलित, विपन्न परिवारलाई न्यानो कपडा वितरण गर्दैआएको भए पनि यस वर्ष पनि न्यानो कपडा वितरण गर्नुपर्ने ६५ वर्षीय वृद्ध जगरूप हजरा दुसाध बताउँछन्। शीतलहरका कारण दुई छाक टार्न गा–हो बेहोर्नुपरिरहेको उनले बताए।
पटेर्वासुगौली गाउँँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुजेन्द्रप्रसाद यादवले चीसोबाट जोगिन न्यानो कपडा लगाउन र कामबाहेक घरबाट बाहिर नजान सुझाव दिए। उनले सरसफाइमा ध्यान नपु–याउँदा र अस्वस्थकर खानपीनको कारण मानिसहरू बिरामी भइरहेको बताए।
गापा स्वास्थ्य शाखा प्रमुख जगन्नाथ साहले दीर्घरोगी, बालबालिका वृद्धवृद्धालाई चीसोले बिरामी पारिरहेको बताए। उनले गापाका सबै स्वास्थ्य चौकीको अनुगमन गर्न शुरू गरिएको पनि बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here