प्रस, निजगढ, ४ माघ/
    निजगढका सम्पूर्ण क्रसर बन्द गरिएको करीब १ महीनापछि सञ्चालनमा आउने सङ्केत मिलेको छ। जिल्ला समन्वय समिति बाराले क्रसर उद्योगहरू तत्कालका लागि बन्द गर्न पुस २ गते निर्णय गरी स्थानीय तह निजगढ नगरपालिकालाई निर्देशन दिएपछि पुस ७ गतेदेखि बन्द गरिएको थियो। निजगढका सबै क्रसर उद्योगमा भएका नदीजन्य पदार्थ रोडा, गिट्टी, बालुवाको मौज्दात र सङ्कलन गरिएका नदीजन्य पदार्थको स्टक प्रमाणित गरिसकेपछि बन्द भएका क्रसर उद्योग केही दिनमैं खुल्ने भएका छन्।
    क्रसर उद्योगबाट उत्पादित प्रयोगमा आउन नसक्ने आकारका गिट्टी सार्वजनिक स्थल, खोला किनार, खोलामा जथाभावी फालिएको र खोला बगरमा मानवद्वारा ठूलठूला खाडल खन्दै नदीजन्य पदार्थको उत्खनन गरेको पाइएपछि जिल्ला समन्वय समितिको अनुगमनले क्रसर उद्योग बन्द गर्न निजगढ नपालाई निर्देशन दिएको थियो।
    प्रयोगमा आउन नसक्ने जथाभावी फालिएका नदीजन्य पदार्थ व्यवस्थित गर्न, क्रसरमा रहेका नदीजन्य पदार्थको बाँकी मौज्दातको निजगढ नपामा राजस्व बुझाएपछि र निजगढ नपाले सोसम्बन्धी लिखित जानकारी जिल्ला समन्वय समितिलाई पठाएपछि मात्रै क्रसर उद्योग सुचारु हुने निजगढ नपाले जनाएको छ।
    ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड–२०७७ को दफा ११ (६) बमोजिम उद्योगको वार्षिक क्षमता, सङ्कलन तथा उत्खनन गर्ने कच्चा पदार्थको स्रोतसहितको विवरण जिल्ला समन्वय समितिमा पेश गर्न निर्देशन दिइएको छ। उद्योगहरूबाट सो विवरण प्राप्त भएपछि जिल्ला समन्वय समितिको बैठकबाट क्रसर उद्योग खोल्ने वा नखोल्ने निर्णय कुर्नुपर्ने देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here