प्रस, वीरगंज, ४ माघ/
    सामाजिक संस्था युवालयले गरीब, विपन्न परिवार र असहायलाई राहत वितरण गरेको छ। शनिवार साँझ आयोजित कार्यक्रममा १३८ घरपरिवारलाई राहत प्रदान गरिएको संस्थाले जनाएको छ।
    वीरगंज महानगरपालिकाको समन्वय तथा इम्प्रुभिङ लाइभ्स इन नेपालको आर्थिक सहयोगमा युवालयले महानगरपालिका–२७ उदयपुरघुर्मी र वडा नं २९ बसडिलवाका १३८ परिवारलाई राहत वितरण गरेको युवालयका कार्यसमिति सदस्य जया साहले जानकारी दिए। राहत सामग्रीमा प्रतिपरिवार १५ किलो चामल, २ किलो दाल, चना १ किलो, १ लिटर तेल, १ किलो नून, १ किलो मकै, नुहाउने र कपडा धुने साबुन १/१ थान, शिशुहरूको लागि लिटो १ प्याकेट रहेको साहले बताए।
    कार्यक्रममा वडा नं २७ का अध्यक्ष प्रदीपकुमार यादवले धन्यवाद ज्ञापन गरेका थिए।
    कार्यक्रममा वीरगंज महानगरपालिकाको सामाजिक महाशाखाका प्रमुख मुकेश गुप्ताले युवालयले मानव कल्याण तथा सामाजिक काम गर्दै आएको बताए। कार्यक्रममा सामाजिक कार्यकर्ता ओमप्रकाश सर्राफ, वडा नं २९ का अध्यक्ष धर्मेन्द्रप्रसाद महतो, वडासचिव शेर महमद मियाँ, वडासदस्य भङ्गिमादेवी चमैन, स्थानीय गोपालप्रसाद यादवलगायतको सहभागिता थियो। लकडाउनको कारण ज्याला मजदूरी गर्दै आएका मजदूर परिवारका गर्भवती महिला, बालबालिकाहरूलाई लक्षित गरेर लकडाउनपछि हिजो राहत वितरण गरिएको हो। अहिले पनि उनीहरूको आर्थिक अवस्थामा सुधार नआएको कारण राहत वितरण गरिएको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here