प्रस, वीरगंज, ३ माघ/
संसद् विघटनविरुद्ध नेपाली काङ्ग्रेसको राष्ट्रव्यापी पालिकास्तरीय विरोध कार्यक्रम अनुसार वीरगंज महानगरपालिकामा नेका महानगर कमिटीले विरोधसभा सम्पन्न ग–यो।
घण्टाघरबाट शुरू भएको मोटरसाइकल विरोध जुलुस महानगरका विभिन्न क्षेत्र परिक्रमा गर्दै पुनः घण्टाघरमा आएर विरोधसभामा परिणत भएको थियो। महानगर समितिका सभापति भोला कलवारको अध्यक्ष्Fता एवं सो पार्टी पर्साका सभापति अजय द्विवेदीको मुख्य आतिथ्यमा सम्पन्न सभामा पार्टीका नेता तथा पूर्वसांसद राजेन्द्रबहादुर अमात्य, पार्टीका जिल्ला सचिव श्याम पटेल, नेता अरविन्द गुप्ता, निर्वाचन क्षेत्र नं १ का सभापति विजय सर्राफलगायतले मन्तव्य व्यक्त गरेका थिए। वक्ताहरूले मध्यावधि निर्वाचन देशको निम्ति धोखा भएको बताउँदै लोकतन्त्र रक्षाका लागि नेपाली काङ्ग्रेस फेरि पनि जुनसुकै अवस्थामा मुकाबिला गर्न तयार रहेको बताए।
प्रस, सेढवा/
प्रधानमन्त्रीले गरेको संसद् विघटन असंवैधानिक भएको भन्दै नेपाली काङ्ग्रेसले राष्ट्रव्यापीरूपमा तय गरेको पालिकास्तरीय विरोध कार्यक्रम पर्साको जीराभवानी गाउँपालिकामा पनि सम्पन्न भएको छ। शनिवार जीराभवानी–४ सुपौली मैदानमा विरोधसभा भएको थियो।
कार्यक्रममा केन्द्रीय सदस्य रमेश रिजालले अझै दुई वर्ष अवधि बाँकी रहेको संसद् विघटन गरी पुनः निर्वाचन गराउन मुलुकको आर्थिक अवस्थाले नभ्याउने बताउँदै वामपन्थीहरूले देशलाई बन्धक बनाएको आरोप लगाए। त्यसैगरी, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा कृपासिन्धु चौधरीले मध्यावधि चुनावमा हुने खर्चले देशका सम्पूर्ण नागरिकलाई कोरोनाविरूद्धको खोप लगाउन पुग्ने बताए।
नेका जीराभवानीका सभापति दिनेश चौधरीको सभापतित्वमा भएको विरोधसभामा प्रदेशसभा सदस्य शङ्कर चौधरी, क्षेत्रीय सभापति रमेश पाण्डे, महाधिवेशन सदस्य सहरूमराउत गद्दी, ठाकुरप्रसाद महतो, जगदीश गेडरालगायतले मन्तव्य व्यक्त गरेका थिए।
प्रस, पोखरिया/
नेपाली काङ्ग्रेस पोखरिया नगरपालिका एकाइको आयोजनामा शनिवार पोखरियामा संसद् विघटनविरूद्ध प्रदर्शन भएको छ।
एकाइ अध्यक्ष मिताराम कुर्मीको अध्यक्षतामा भएको विरोधसभामा संविधानसभा सदस्य रामेश्वर रौनियार, नगरप्रमुख दीपनारायण रौनियार, सकिम मियाँ, ललन द्विवेदी, लछुमन साह कानू, रामबाबू चौहान, अजय कलवारलगायतले मन्तव्य व्यक्त गरेका थिए।
यसैगरी, धोबिनी गापामा मजिद मियाँको अध्यक्षतामा विरोधसभा भएको थियो। विरोधसभामा प्रमुख अतिथि वशिष्टनारायण कुर्मी, गापा अध्यक्ष सुरेश कुर्मी, बलिस्टर अहमदलगायतले मन्तव्य राख्दै प्रधानमन्त्रीले संसद् विघटन गरेर संविधानको बर्खिलाप कार्य गरेको आरोप लगाए।
नरेश यादव, पर्सागढी/
नेपाली काङ्ग्रेसले पर्सागढी नगरपालिकास्तरीय विरोध कार्यक्रम वडा नं ४ को खेलमैदानमा सम्पन्न गरेको छ। विरोधसभामा सो पार्टीका केन्द्रीय सदस्य अजयकुमार चौरसियाले करीब दुई तिहाइ बहुमतको सरकार रहेको कम्युनिस्ट पार्टीले देश चलाउन नसकेको र निर्वाचनको प्रतिबद्धता पूरा नगरी जनतालाई धोखा दिएको आरोप लगाए।
सो पार्टीका नगर संयोजक बिशमोहन चौधरीको अध्यक्षतामा भएको विरोधसभामा प्रदेश सांसद राजेश्वरसाह तेली, नेता रामरूप कुर्मी, नगरप्रमुख लोकनारायण यादव, उपप्रमुख अर्चना चौधरी, जङ्गबहादुर दास थारू, वडाध्यक्ष किसुनदेव यादव, समसुद्दीन शाह देवानलगायतले मन्तव्य व्यक्त गरेका थिए। सभाको सहजीकरण गिरीराज कँडेलले गरेका थिए।
प्रस, ठोरी/
नेपाली काङ्ग्रेसको केन्द्रीय विरोध कार्यक्रम अनुसार ठोरी गाउँपालिकास्तरीय विरोधसभा वडा नं ३ रामनगरमा सम्पन्न भयो। विरोधसभामा वक्ताहरूले नेपाली काङ्ग्रेस जस्तोसुकै सङ्कटमा पनि देशलाई निकास दिन सक्ने पार्टी भएको दाबी गरे।
सभामा नेका पर्साका पूर्वसचिव एवं महासमिति सदस्य बृहस्पतिकृष्ण श्रेष्ठ, जिल्ला सदस्य रामबहादुर श्रेष्ठ, ठोरी–२ का अध्यक्ष किशोर तामाङ, सन्तोष श्रेष्ठ, माइकल श्रेष्ठ, विश्वराज घिमिरे, प्रकाश खनाल, अर्जुन बस्नेत, अमृत श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए। नेका ठोरीका संयोजक शम्भु पौडेलको अध्यक्षतामा भएको सभाको सहजीकरण सो पार्टीका क्षेत्रीय सदस्य चिरञ्जीवी सापकोटाले गरेका थिए।