प्रस, निजगढ, ४ माघ/
नेपाली काङ्ग्रेस नगर कार्यसमिति निजगढको आयोजनामा शनिवार संसद् विघटनविरुद्धमा प्रदर्शन गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि नेका नेता पेमासिद्धि लामाले जब–जब देश सङ्कटमा पर्छ, तब–तब नेका देश र जनताको पक्षमा दरिलोसँग उभिएको इतिहास रहेको दाबी गरे। प्रधानमन्त्री केपीशर्मा ओलीले संसद् विघटन गरेर प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको धज्जी उडाएको उनले आरोप लगाए। कार्यक्रममा शम्भुबहादुर बुढाथोकी, सुरेशकुमार खनाल, युवा नेता मधु तिमल्सिना, विष्णु खड्का, मङ्गल लोप्चन, पासाङ लामालगायतले संसद् विघटनको विरोध गरेका थिए। नेका निजगढ नगर कार्यसमितिका सभापति महेशी कुमरको अध्यक्षतामा कार्यक्रम भएको थियो। विरोधसभाअघि ठूलो सङ्ख्यामा निस्केको मोटरसाइकल –यालीले निजगढ, रतनपुरी भरतगंजसिगौल, शहीद चोक, बुद्धचोक परिक्रममा गरेको थियो।
प्रस, बारा/
बाराको परवानीपुर गाउँपालिका–२ रामपुरटोलमा शनिवार नेपाली काङ्ग्रेसले संसद् विघटनविरुद्ध –यालीसहितको विरोधसभा गरेको छ। परवानीपुर गापा एकाइको आयोजनामा गरिएको विरोधसभामा नेकाका केन्द्रीय सदस्य बृजलालप्रसाद यादवले वर्तमान सरकारको असंवैधानिक कदमको निन्दा गरे। उनले अब देश बचाउने जिम्मा नेकाको काँधमा आएको र आगामी सरकारको नेतृत्व नेकाले गर्ने दाबी गरे। विरोधसभामा क्षेत्रीय सभापति अरविन्दकुमार गुप्ता, लालबाबू यादव, विजय गुप्तालगायतका नेताहरूले संसद् विघटनको विरोध गरेका थिए। नेका परवानीपुर गापाका सभापति पुनदेव यादवको अध्यक्षतामा भएको विरोधसभाअघि मोटरसाइकल –याली निकालेर गाउँपालिकाको परिक्रममा गरिएको थियो।
प्रस, सिम्रौनगढ/
नेपाली काङ्ग्रेसको पूर्वघोषित कार्यक्रम अनुसार शनिवार बाराको सिम्रौनगढ नगरपालिकामा पनि विरोध कार्यक्रम सम्पन्न भएको छ। मोटरसाइकल –यालीपछि विरोधसभा भएको थियो।
नगरका प्रमुख विजयशङ्कर यादवको नेतृत्वमा वडा नं २ अमृतगंज रानीवास बजारबाट शुरू भएको जुलुस जानकीनगर, खजानी, ननसगरा ढाट, बैरिया, बिसुनपुर, नैकाटोला, गङ्गानगर, कचोर्वा, टेटा हुँदै नगरपरिक्रमा गरेर सिम्रौनगढ बसपार्कमा आएर विरोधसभामा परिणत भएको थियो। सभाका प्रमुख अतिथि सो पार्टी बाराका कोषाध्यक्ष चन्द्रशेखर यादवले संसद् विघटनको कदम अलोकतान्त्रिक, असंवैधानिक र सर्वसत्तावादतर्फ उन्मुख रहेको बताए।
सभामा बारा क्षेत्र नं १ का अध्यक्ष विजयशङ्कर यादव, महासमिति सदस्य उपेन्द्रप्रसाद जयसवाल, जिल्ला कार्यसमिति सदस्य मोहन कुशवाहा, पूर्व जिल्ला कोषाध्यक्ष रामनरेशकान्त कुशवाहालगायतले मन्तव्य व्यक्त गरेका थिए। सिम्रौनगढ नगरकमिटीका सभापति नागेन्द्रप्रसाद साहको अध्यक्षतामा भएको कार्यक्रममा सो पार्टी सिम्रौनगढ नगरकमिटीका सचिव गौरीशङ्कर कुशवाहा र सहजीकरण उपेन्द्र प्रसादले गरेका थिए।