प्रस, रौतहट, ३ माघ/
अपहरण तथा सामूहिक बलात्कारको झुटा मुद्दा दिई अरूलाई फसाउन खोज्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। एकजना बालिका र दुईजना महिलासमेत तीनजनालाई शुक्रवार इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्ने ओखलढुङ्गा घर बताउने वर्ष १७ की एक किशोरी, उनकी नातामा पर्ने भाउजू काठमाडौं निवासी मेनुका परियार भन्ने चिनीमाया नेपाली र उनकी साथी कल्पना भुजू रहेको जिप्रका रौतहटले जनाएको छ। घटना विवरण अनुसार पुस २८ गते बिहान पाँच बजे ओखलढुङ्गा घर बताउने किशोरी रुँदै कराउँदै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको सम्पर्कमा पुगिन्। किशोरीले “सिन्धुली–खुर्कोट हुँदै काठमाडौं जाने क्रममा बस बिग्रिएको बेला बाहिर निस्कँदा पाँचजनाको समूहले अपहरण गरी चन्द्रनिगाहपुर ल्याइपु–याएको र दुई तले पक्की घरमा दुई दिनसम्म बन्धक बनाएर बलात्कार गरेको” बयान दिएकी थिइन्।
सोही बयानको आधारमा किशोरीकी नातामा भाउजू पर्ने नेपाली र साथी भुजूले जाहेरीमा सनाखत गरिदएका थिए। जाहेरीको आधारमा प्रहरीले अनुसन्धान गर्दा पीडित भनिएकी किशोरीले घरको ठेगाना पहिचान गर्न नसकेको तर फेसबूकको फोटोबाट भने पीडक भनिएका व्यक्तिको पहिचान गराइरहेकी थिइन्। पीडित भनिएकी किशोरीको हाउभाउ र शारीरिक अवस्था एवं बोली व्यवहारमा समेत शङ्का लागि प्रहरीले उनीसँग रहेको मोबाइलको लोकेशन चेक गर्दा उनी खुर्कोटतर्फ गएको नदेखिएको र काठमाडौंबाट सोही दिन बिहान मात्रै चन्द्रनिगाहपुर आएको देखिएको थियो।
त्यसपछि तीनैजनालाई नियन्त्रणमा लिएर सोधपूछ गर्दा उनीहरू वास्तवमा पीडित नभएर अरूको लागि भाडामा काम गरिरहेको खुलासा भएको थियो। उनीहरूले काठमाडौंमा म्यानपावर कम्पनी सञ्चालन गर्ने रौतहटको गरुडा–२ घर भएका गजेन्द्र भन्ने रामविश्वास साह कानूको योजनामा कानूका लेनदेन कारोबारका विपक्षी गरुडा बस्ने रामनिवास साह कानूलाई फसाउन षड्यन्त्र गरेको कुरा खुल्न आएको थियो। रामनिवासलाई झूटो मुद्दामा फसाएबापत महिला गिरोहलाई रामविश्वासले ६ लाख रुपैयाँ नगद दिने तय भएको र किशोरीलाई पनि रामविश्वासले नै सोही रात चपुरमा ल्याएर छोडेको कुरा पक्राउ परेकाहरूले स्वीकार गरेका छन्।
पक्राउ परेका तीनैजनाविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरको षड्यन्त्र र आपराधिक लाभ शीर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको र सो समूहका योजनाकार रामविश्वास फरार रहेको जिप्रका रौतहतले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here