प्रस, कलैया, ३ माघ/
जनता समाजवादी पार्टी नेपाल बाराले कलैया उपमहानगरपालिकाको श्री ३ चन्द्र माविमा शनिवार विरोधसभा गरेको छ।
विरोधसभाका प्रमुख अतिथि प्रदेश २ का भौतिक पूर्वाधारमन्त्री जीतेन्द्र सोनलले संसद् पुनस्र्थापना गर्न सडकमा लडिरहेका पार्टीहरूले सविधान संशोधनको लागि लिखित प्रतिबद्धता जनाए मात्र जसपाले अन्य पार्टीसँग समन्वय गरी सडक सङ्घर्ष गर्ने बताए।
उनले विगतमा मधेसी दल तथा माओवादीबीच सडक सङ्घर्षको लागि सम्झौता भएको तर चोर बाटोबाट पार्टी अध्यक्ष प्रचण्डले केपीशर्मा ओली तथा शेरबहादुर देउवासँग मिली फास्ट ट्र्याकबाट मधेसीविरोधी संविधान बनाएकाले अहिले ओलीले चालेको कदम ठीक रहेको बताए। मधेस एवं सङ्घीयताविरोधी ओलीसँग मिलेर पार्टीको गठबन्धन गरेका प्रचण्डलाई प्रधानमन्त्री ओलीले तह लगाएकोमा खुशी व्यक्त गरे। सङ्घीयता र गाण्तन्त्रविरोधीहरूले जहिले पनि मधेसलाई धोका दिएकामा यसको भागीदार नेपाली काङग्रेस पनि रहेको उनको बताए।
जसपाका कार्यकारिणी सदस्य रामसहाय यादवले प्रम ओलीले सुनियोजित तरीकाले संसद् विघटन गरेको आरोप लगाए। संविधान जारी भएदेखि नै ओलीले आफ्नो योजना बनाइ संसद्सँगै संविधान पनि सिध्याउने तयारी गरिरहेको आरोप लगाए। लामो सङ्घर्षबाट आएको संविधानप्रति आफूहरूको असहमति भए तापनि पाएको अधिकार पनि खेर जाने भएकोले आमजनतालाई सडक सङ्घर्षको माध्यमबाट संसद् पुनस्र्थापना गराएर छाडने दाबी गरे।
जिल्ला अध्यक्ष अजय पटेलको सभापतित्वमा भएको कार्यक्रममा  जसपाका नेता जीतेन्द्र सिंह, प्रमोद गुप्ता, एकबाल मियाँ, आत्माराम साह, उषा यादव, रामबाबूकुमार यादव, बच्चा यादव, पारस साह, नवलकिशोर सिंह, धमेन्द्र यादव, भरत खड्का, पिङ्की यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here