प्रस, वीरगंज, २३ माघ/
नेपाल सरकारले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि देशव्यापी एचपिभी खोप अभियान हिजोदेखि शुरू गरेकोमा पर्सा जिल्लामा दुई दिनमा करीब चार हजार १०० बालिकाले एचपिभी खोप लगाएका छन् ।
स्वास्थ्य कार्यालय, पर्साले जनाए अनुसार हिजो एक हजार दुईजना र आज तीन हजार ११४ ले एचपिभी खोप लगाएका छन् । हिजो वीरगंज महानगर–१४ बहुअरी टोलस्थित मदर्सा तौहिदुल इस्लाम सलफिया माध्यमिक विद्यFलयबाट खोप अभियान शुभारम्भ गरिएको थियो । अभियान फागुन ६ गतेसम्म चल्ने स्वास्थ्य कार्यालय, पर्साका फोकल पर्सन जयमोद ठाकुरले बताए ।
उनले अभियानको क्रममा पर्सा जिल्लामा कक्षा ६–१० सम्मका र विद्यालयबाहिर रहेका १०–१४ वर्ष उमेर समूहका ३८ हजार ६८६ जना किशोरीलाई खोप लगाउने लक्ष्य रहेको बताए । यसमध्ये ३१ हजार १६० जना विद्यालयका किशोरी र सात हजार ५२६ जना विद्यालयबाहिरका किशोरी छन् ।
पर्सामा ३४५ वटा खोपकेन्द्रबाट ६९० जना स्वयंसेवक/सेविका तथा ११२ जना स्वास्थ्यकर्मी परिचालन गरिएको फोकल पर्सन ठाकुरले बताए ।
हिजोदेखि शुरू भएको एचपिभी खोप अन्तर्गत अहिले पहिलो चरणमा वीरगंज महानगरपालिका–१ देखि १६ र पर्सागढी, पोखरिया नगरपालिका, जीराभवानी, जगरनाथपुर, पटेर्वासुगौली, सखुवाप्रसौनी गाउँपालिकामा खोप अभियान चलिरहेको अधिकृत ठाकुरले बताए ।