प्रस, निजगढ, २३ माघ/
निजगढ नगरपालिका–१० लालमा माघ २६ गते सोनाम ल्होछार २८६१ भव्यताका साथ मनाइने जानकारी दिइएको छ । नेपाल तामाङ घेदुुङ जिल्ला समन्वय समिति बाराले बुधवार निजगढमा पत्रकार सम्मेलन गरी खेम्पो धर्मगुरुलगायत लामा गुरुहरूबाट बिहानदेखि विधिवत् पूजाआजा गराइ आफ्नो धर्म, कला, संस्कृति, रीतिरिवाज, भाषा झल्कने विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति बाराका अध्यक्ष सूर्य घलानले पत्रकार सम्मेलनमा जानकारी दिए । कार्यक्रममा राष्ट्रिय कलाकार, स्थानीय नवप्रतिभावान कलाकारहरूद्वारा नृत्य, प्रहसन, गायन प्रस्तुत गरिने जनाइएको छ ।
नेपाल तामाङ घेदुङ समिति मधेस प्रदेशका उपाध्यक्ष सुनमाया लोप्चनले सोनाम ल्होछार पर्व तामाङ समुदायको लोकप्रिय चाड भएकोले आफ्नो धर्म, कला, संस्कृति, भाषालगायत विविध विषयलाई समेटेर कार्यक्रमहरू गर्दै जाने बताइन् । आफ्नो मौलिक भाषा, कला, संस्कृति प्रत्येक जातजातिको विशेष पहिचान भएकाले यस्ता कार्यक्रमहरूबाट निरन्तर नवपुस्ताहरूलाई जानकारी गराउँदै लैजान पनि जिल्लाका बस्तीबस्तीहरूमा ल्होछार पर्वको महŒव निरन्तर बुझाउँदै लैजाने उनले बताइन् ।
कार्यक्रममा युवा समाजसेवी कुमार मोक्तान, हरि लामा, बारा समितिका उपाध्यक्ष तिलकबहादुर जिम्बा, कोषाध्यक्ष राजु लामालगायतको सहभागिता थियो । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति बाराका अध्यक्ष सूर्य घलानको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन समिति बाराका सहसचिव सागर तामाङले गरेका थिए । कार्यक्रम सम्पन्न गर्न आड लाख ६० हजार लागत लाग्ने समितिको अनुमान छ ।
कार्यक्रममा तीन हजारभन्दा बढी दर्शक सहभागी हुने नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति बाराले अनुमान गरी कार्यक्रमलाई मर्यादित र व्यवस्थित बनाउन आवश्यक सङ्ख्यामा स्वयंसेवक खटाइने जनाएको छ ।