माधव तिमिल्सिना, ठोरी, २३ माघ/
पेशागत हकहितका निमित्त ऐक्यबद्धता जनाउँदै ठोरीका शिक्षकहरूले आन्दोलनका विभिन्न कार्यक्रमहरू घोषणा गरेका छन् ।
शिक्षक हकहितको निमित्त संसद्को जारी हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पारित गराउन दबाब दिने उद्देश्यले ठोरीमा शिक्षकहरूको आन्दोलन परिचालन समिति गठन भएको छ । नेपाल शिक्षक महासङ्घ केन्द्रीय समितिले गरेको सर्कुलरबमोजिम नेपाल शिक्षक महासङ्घ, ठोरीका अध्यक्ष अमृत श्रेष्ठको संयोजकत्वमा २५ सदस्यीय समिति गठन भएको हो ।
बुधवार ठोरी गापा–४ स्थित ज्ञानज्योति माविमा बसेको बैठकले समितिको सहसंयोजकमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, ठोरीका अध्यक्ष गोपीलाल श्रेष्ठ, सचिव अखिल शिक्षक सङ्गठन ठोरीका अध्यक्ष दीपेन्द्र सापकोटा र कोषाध्यक्षमा नेपाल शिक्षक सङ्घ, ठोरीका अध्यक्ष विदुर सापकोटालाई चयन गरेको हो ।
ठोरीका विभिन्न शिक्षिक सङ्घसङ्गठनका पदाधिकारीहरूको सहभागिता रहेको बैठकले आन्दोलनका विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको निवृत्तिभरण वञ्चित शिक्षक सङ्घर्ष समिति, ठोरीका अध्यक्ष चन्द्रबहादुर श्रेष्ठले जानकारी दिए । बैठकले आगामी फागुन ६ गते खबरदारीसहित ठोरी गापा कार्यालयमा ध्यानाकर्षणपत्र बुझाउने निर्णयसमेत गरेको अध्यक्ष श्रेष्ठले बताए । आगामी फागुन ८ गते ठोरीका सबै विद्यालयमा अभिभावक र विद्यार्थीको सहभागितामा अन्तत्र्रिmया कार्यक्रम गर्ने निर्णय गरिएको महासङ्घ ठोरीका अध्यक्ष श्रेष्ठले बताए ।
नेपाल शिक्षक महासङ्घ ठोरीका अध्यक्ष अमृत श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकमा ठोरीका विभिन्न विद्यालयमा कार्यरत शिक्षकहरूको सहभागिता थियो ।