अमेरिका र चीनबीचको व्यापार युद्ध पुनः चर्किएको छ । अमेरिकाले चिनियाँ सामानमा १० प्रतिशत भन्सार बढाएपछि चीनले त्यसको प्रतिशोधस्वरूप अमेरिकी कोइला र तरलीकृत प्राकृतिक ग्याँसमा १५ प्रतिशत भन्सार लगाउने घोषणा गरेको छ । पछिल्लो निर्णयले दुई शक्तिराष्ट्रबीचको व्यापारिक तनाव अझ गहिरिएको देखिन्छ । अमेरिकाले चिनियाँ सामानमा भन्सार लगाउनु पछाडि मुख्यतः व्यापार घाटा सन्तुलन गर्न भनिएको छ । चीनसँगको व्यापारमा निरन्तर घाटा खेप्दै आएको अमेरिका आफ्ना उद्योग तथा रोजगार संरक्षण गर्न चाहन्छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले घरेलु उद्योगलाई प्रवद्र्धन गर्न ‘अमेरिकामा उत्पादन गर, अमेरिकालाई पहिलो बनाऊ’ नीति अन्तर्गत चिनियाँ सामानलाई महँगो बनाउने रणनीति लिएका छन् । साथै, प्रविधि चोरी, बौद्धिक सम्पत्ति अधिकारको उल्लङ्घन तथा विश्व व्यापार सङ्गठन (डब्लुटिओ)का नियमविपरीत रहेको आरोप लगाउँदै अमेरिकाले चीनविरुद्ध कडा नीतिहरू लागू गर्दै आएको छ । अमेरिकाको भन्सार वृद्धिपछि चीनले पनि जवाफस्वरूप अमेरिकी कच्चा तेल, कृषि मेशिनरी, ठूला सवारीसाधन र पिकअप ट्रकमा समेत १० प्रतिशत भन्सार थपेको छ ।
यस अघि पनि अमेरिका र चीनबीच पटकपटक भन्सार युद्ध भइसकेका छन् । ट्रम्प प्रशासनको पहिलो कार्यकाल सन् २०१८–१९ मा अमेरिका–चीन व्यापार युद्ध उत्कर्षमा पुगेको थियो । अमेरिकाले चीनबाट आउने ३४ अर्ब डलर बराबरका वस्तुमा २५ प्रतिशत भन्सार लगाएको थियो, जसको प्रतिशोधमा चीनले पनि अमेरिकी सामानमा सोही अनुपातमा भन्सार बढाएको थियो । तर पछिल्लो समयमा वार्ताबाट केही समाधान निकाल्दै ‘फेज–१’ सम्झौता भएको थियो । उक्त सम्झौतामा चीनले अमेरिकी कृषि उत्पादन बढी आयात गर्ने सहमति गरेको थियो भने अमेरिकाले केही भन्सार कम गरेको थियो । नयाँ विवादले त्यो सम्झौता फेरि सङ्कटमा परेको छ । चीन र अमेरिकाका प्रमुख उद्योगहरूले ठूलो आर्थिक क्षति बेहोर्नुपर्नेछ । अमेरिका चीनमा उत्पादन हुने सामानहरूको प्रमुख बजार हो, भन्सारले गर्दा चिनियाँ निर्यात उद्योगमा नकारात्मक असर पर्नेछ । त्यसैगरी, चीन अमेरिकी कोइला, तेल, कृषि उत्पादन तथा उच्च प्रविधि क्षेत्रका लागि ठूलो बजार हो, जसको घाटा अमेरिकी अर्थतन्त्रलाई समेत पर्न सक्छ ।
व्यापार युद्धको प्रभाव दुई पक्षमा मात्रै सीमित रहँदैन । विश्व अर्थतन्त्रमा व्यापार युद्धको प्रभाव नकारात्मक हुन्छ । भन्सार वृद्धिले उत्पादन लागत बढाउँछ, जसले उपभोक्तालाई महँगीको मारमा पार्छ । साथै आपूर्ति प्रणालीमा अवरोध सिर्जना हुन्छ । यसले उत्पादन र व्यापारको गतिलाई प्रभावित गर्छ । नेपाल जस्तो उपभोक्ता आधारित अर्थतन्त्रका लागि यो व्यापार युद्ध अप्रत्यक्षरूपमा महँगो पर्न सक्छ । नेपालमा चीन हुँदै आउने धेरै वस्तु छन्, जसमा भन्सार वृद्धिले मूल्यवृद्धि गराउने सम्भावना छ । यसैगरी, अमेरिकी अर्थतन्त्रमा मन्दी आउँदा त्यसको असर विश्वभर पर्न सक्छ । नेपालका निर्यात, विप्रेषण र लगानीमा समेत यसले असर पु¥याउनेछ । अमेरिका–चीन व्यापार युद्ध केवल दुई देशका लागि मात्र होइन, विश्व अर्थतन्त्रकै लागि हानिकारक बन्न सक्छ । नेपाल जस्ता विकासशील राष्ट्रहरूका लागि
यस्तो व्यापार युद्धले अप्रत्यक्ष असर पार्न सक्छ । अतः नेपालले विश्व अर्थतन्त्रको यो जटिल अवस्थालाई बुझ्दै आफ्ना आर्थिक नीतिहरू सन्तुलित ढङ्गले अघि बढाउनुपर्ने देखिन्छ ।