सामान्यतया धार्मिक पर्यटन भनेपछि मन नै अमिलो बनाउने समाजको प्रवृत्तिमा अहिले परिवर्तन भइरहेको छ । केही दशक पहिलेसम्म धार्मिक पर्यटनलाई खासै महŒव दिइँदैनथ्यो तर अहिले पर्यापर्यटनको स्थानमा पनि धार्मिक भावनाको सम्मान गरिएको पाइन्छ । अहिले पछिल्लो चरणमा जहाँजहाँ पर्यटनस्थल, पिकनिकस्थलहरूको निर्माण भएका छन्, भइरहेका छन्, ती ठाउँलाई पनि धर्मसित जोड्ने अभ्यास भइरहेको पाइन्छ । पर्यटनस्थलमा धर्मस्थल पनि थपिएपछि पर्यटकको सङ्ख्या बढेको पनि पाइएको छ । हरेकजसो पर्यटनस्थलमा कतिपय निश्चित दिनमा धेरै पर्यटक आउने, सामान्य दिनमा पनि मानिसहरू पुग्ने तथा कतिपय पर्यटनस्थलमा पर्यटकहरूको आकर्षण केवल धर्मस्थल हुने गरेको पनि नपाइएको होइन ।
पर्यटनको अर्थ धर्मकर्ममा मात्र सीमित छैन, न धर्मकर्मको अर्थ पर्यटनमा सीमित छ । यद्यपि धर्मकर्म र पर्यटनबीच निकटको सम्बन्ध छ । अन्य क्षेत्रको त्यति जानकारीमा नआए पनि हिन्दूबहुल क्षेत्रमा भने धार्मिक पर्यटनको विशेष महŒव रहेको छ । सामान्य मानिस त्यहीं घुम्न जान्छन् जहाँ घुमाइको आनन्द र धर्मको लाभ प्राप्त होओस् । हुनत धर्म आनन्द हुन सक्दैन, तर धर्मको माध्यमले मानिसले जब उचाइ प्राप्त गर्दछ वा धार्मिक भावको उच्चताको अनुभूति गर्दछ, तब आनन्द प्राप्त हुन्छ । गीतामा पनि यस किसिमको भावलाई समर्थन गरिएको पाइन्छ । कतिपयलाई दान दिंदा आनन्द लाग्छ । कतिपय मानिसले त्यागमा आनन्द मान्ने गर्दछन् । कोही साहित्य अध्ययनमा, कोही तास खेल्नमा त कोही आप्mनो सफलतामा आनन्द मान्ने गर्दछन् । यसैगरी धर्मकर्मको प्रारम्भिक अवस्थामा रहेका मानिसले तीर्थस्थलमा देवीदेवताको दर्शनमा जुन आनन्द प्राप्त गर्दछन्, त्यसमा सन्तोषको मात्रा बढी हुन्छ । अर्को अर्थमा सन्तोष पनि आनन्द हो ।
धार्मिक यात्रा र पर्यटनमा कुन अर्थमा भिन्नता छ भने धार्मिक यात्रामा अरूले पनि सजिलै सहयोग गर्दछन् । अरूले पनि गर्ने सहयोगमा धर्म नै देख्दछन् । सहयोगमा पनि धर्म देख्ने समाजले पर्यटनमा खासै सहयोग गर्ने मनसाय देखाउन चाहँदैन । सामान्य पर्यटन भन्नुको अर्थ घुमफिर हो, यात्रा हो । घुमफिर र यात्राको लागि अरूसित सहयोग माग्नु पनि राम्रो मानिंदैन । यद्यपि कतिपय ठाउँमा भने यसविपरीत अवस्था नपाइने होइन । मुख्यगरी धार्मिक क्षेत्रको घुमाइका लागि जसरी सहयोग माग्न वा पाउन सजिलो छ त्यसरी सामान्य पर्यटनको लागि छैन । पर्यटनमा धेरै नियम नहुने वा नियम भए पनि मानिस धेरै हदसम्म स्वतन्त्र हुने, मानसिकरूपमा मनोरञ्जन प्राप्त गर्ने वा खाली समय उपयोग गर्ने अवसरको रूपमा लिन्छन् । यद्यपि धार्मिक पर्यटनमा यस किसिमको भन्दा धेरै बन्देज हुन्छ । खानपानमा निकै परहेज गर्नुपर्ने, उठबस, रहनसहन, घुमफिर तथा दैनिकीको अन्य क्षेत्रमा पनि धार्मिक प्रतिबन्ध वा नियमहरू रहेका हुन्छन् । धार्मिक यात्रामा जताततै सहयोगी भेटिन्छन् भने पर्यटनमा हरेक ठाउँमा व्यावसायिक सहयोगी बढी भेटिन्छन् । व्यवसाय चल्ने भए सहयोग गर्ने अन्यथा कतिपय अवस्थामा मानिसहरू बोल्न पनि चाहँदैनन्, बाटो देखाउन पनि पैसा पर्ला जस्तो व्यवहार देखाउँछन् ।
धार्मिक यात्रा कुनै परिचित तीर्थस्थलको त हुन्छ नै, अस्थायीरूपमा बनाइएका कतिपय धर्मस्थलको हुन्छ । जस्तो कि कतै कुनै यज्ञ वा महायज्ञ लगाइएको हुन्छ । यस्तो स्थलमा मानिसहरूको निकै रुचि हुन्छ । त्यहाँ धार्मिक प्रवचन, कीर्तन, झाँकी तथा कथा देखाउने वा अन्य किसिमको धार्मिक तथा सांस्कृतिक कार्यक्रम राखिएको हुन्छ भने अझ धेरै मानिसहरूको आकर्षण बढ्छ । मानिसहरूमा भक्तिभाव, धार्मिक भावनाका साथै सामाजिकता, सहयोग र प्रेमको भावनाको विकास पनि भएको देखिन्छ । अझ धार्मिक किसिमका गतिविधिले मनोरञ्जन प्राप्त गर्ने तथा समाजमा सकारात्मक सन्देश विस्तार गर्ने काम पनि भएको हुन्छ । धार्मिक उत्सवले गाउँको नाम पनि चम्काउने वा गाउँको नाममा सम्मानमा वृद्धि गर्ने अवसर पनि प्रदान गरेको हुन्छ । धार्मिक पर्यटनको अर्थतन्त्रसित पनि बलियो सम्बन्ध रहेको देखिन्छ ।
अहिले भारतमा चलिरहेको महाकुम्भ मेलामा करीब चालीस करोड मानिस पुग्ने पूर्वानुमान गरिएको छ । गङ्गा, यमुना र सरस्वती नदीको सङ्गमस्थल मानिएको प्रयागराजस्थित महाकुम्भ मेलाको अर्थशास्त्र गज्जबको छ । एकजनाले दाँत माझ्ने दतिवन बेचेर करोडपति बनेको समाचार पढेको बताउँछन् । एउटा रिक्सा चालकले पनि निकै राम्रो अर्थात् अकल्पनीय आम्दानी गरिरहेको सुनिन्छ । खानेकुरा बेच्नेहरूले पनि कहिल्यै नगरेको आम्दानी गरिरहेका छन् । अनि यातायातका साधनहरूको अभाव भइसकेको देखिन्छ भाडाको लागि । मानिसहरू त्यहाँ पुग्न आतुर छन् । सङ्गममा स्नान गर्दा पुण्य प्राप्त हुन्छ भन्ने कुरामाथि धेरैलाई विश्वास छ तर कतिपय यस्ता पनि छन्, पुण्य र पापको कुराभन्दा टाढा रहेर जहाँ करोडौं मानिस पुगिरहेका छन् त्यहाँ सोही वेशभूषा, परम्परा तथा संस्कृति अनुसार पुगेर एक्सपेरिमेन्ट गर्न चाहन्छन् । विभिन्न सञ्चारमाध्यममा आइरहेको अर्को कुरो पनि छ कि जहाँ विदेशीहरू पनि धेरै सङ्ख्यामा पुगिरहेका छन् र दिव्य अनुभूतिको कुरा मिडियामार्फत सार्वजनिक गरिरहेका छन्, त्यहाँ आपूm पनि पुग्नुपर्छ भन्ने कुरा विचार गरिरहेका छन् । महाकुम्भ मेलाले अर्थतन्त्रमा गति ल्याएको देखिएको छ । मानिसहरू पैसा खर्च गर्न आतुर छन् ।
हामीकहाँ पनि धार्मिक मेला लगाउँदा मानिसमा अलिक उत्साह जागेको पाउँछौं । कतिपय ठाउँमा धार्मिक यज्ञ गरेर मठ, मन्दिर तथा विद्यालय बनाउने काम गरेको पाइन्छ । सार्वजनिक सम्पत्ति आर्जन वा निर्माणमा धार्मिक गतिविधिको ठूलो भूमिका भएको मान्न सकिन्छ । कतिपय धार्मिकस्थलहरूले सामाजिक काजमा पनि धेरै सहयोग गरेको देखिन्छ । धार्मिक तथा सामाजिक गतिविधिलाई धर्मको नाममा काम गर्नेहरूले करीब उस्तै दृष्टिले हेरेका हुन्छन् । यसै अर्थमा कतिपयले अनाथ, असहायहरूलाई सहयोगको हात बढाउँछन् । धर्म हुने अभिलाषा वा मनमा हुने अनौठो सन्तोष प्राप्तिको लागि कतिपय मानिस अनाथ तथा असहाय मानिसहरूको मुहारमा मुस्कान छर्ने काम गर्दछन् । मीठो खानेकुरा दिने, लुगा किनिदिने, जुत्ता दिने तथा चाडपर्वको अवसरमा चाडपर्व मनाउनको लागि आवश्यक व्यवस्था गरिदिने मनकारीहरू पनि नभएका होइनन् । यस्ता कार्यबाट पनि धर्मको प्राप्ति हुन्छ भन्ने कुरा विचार गरेर कतिपयले गरेको सहयोगबाट अनाथ तथा असहायहरूले जीवनको मूल बाटो समाउने अवसर पनि प्राप्त गरेका उदाहरणहरू छन् । यहींनेर धर्मले मानिसलाई, समाजलाई र संस्कृतिलाई पनि आधार दिने रहेछ भन्ने कुरो स्पष्ट हुन आउँछ ।
धार्मिक पर्यटनका लागि मानिसहरू जब आप्mनो घर छाडेर अर्को ठाउँ पुग्दछन्, अनि केही दानपुण्य गर्नुपर्छ भन्ने मनसाय राख्दछन् । सबैले दान गर्दैनन् तर केहीले अवश्य गर्छन् । केही मानिसले त्यस्ता भिक्षु खोजेर दान दिन चाहन्छन् जो साँच्चीकै सहयोग पाउने लायक हुन्छन् । भन्नुको तात्पर्य दानको रूपमा दिन खोजिएको रकमको सदुपयोग होस् । दान लिनुलाई पनि पेशाको रूपमा अँगाल्नुभन्दा जसले काम गर्न सक्ने अवस्था पार गरिसकेका छन् वा प्राकृतिक कारणले नै त्यस किसिमको जीवन पाएका छन्, तिनीहरूलाई नै सहयोग गर्नुपर्छ, दान दिनुपर्छ भन्ने भावना राख्नेहरू पनि छन् । आपूmले दुःख गरी कमाएको धन दान दिनुपर्दा दिइएको दानको पूर्ण सदुपयोग होस् भन्ने भावना राख्नु सर्वथा स्वाभाविक हो । दानले धर्म वा पुण्य प्राप्त हुन्छ वा दानको रूपमा कसैलाई सहयोग गर्दा यदि उनको अनुहारमा मुस्कान आउँछ भने त्यो मुस्कान देखेर प्राप्त हुने सन्तोषरूपी आनन्द प्राप्त हुन्छ, त्यहीं प्राप्त गर्न कतिपय मानिस दान दिन्छन् ।
पर्यटनका अन्य धेरै क्षेत्र छन् । पर्यटकहरू विभिन्न चाहना राखेर देश विदेश भ्रमण गर्ने गर्दछन् । तर हाम्रो समाजमा अहिलेसम्म धार्मिक पर्यटन गर्नेहरूको सङ्ख्या धेरै रहेको वर्तमान अवस्थामा, धार्मिक पर्यटनले समाजलाई धेरै किसिमको आधार दिएको छ । दिइरहेको छ र दिइरहने छ पनि । धार्मिक पर्यटनले जीवनको धेरै आधारलाई सहयोग गरेको देख्न सकिन्छ ।