प्रस, पर्सागढी, २ माघ/
पर्सागढी नगरपालिकाको आर्थिक सहयोगमा तराई नेपाल संस्थाले नगर क्षेत्रका भुस्याहा कुकुरलाई रेबिजविरुद्धको खोप अभियान अन्तिम चरणमा पुगेको छ।
तराई नेपाल संस्था बाराकी प्रमुख ममता साहले ९ वटा वडामध्ये दुईवटा वडामा मात्र खोप दिन बाँकी रहेको बताइन्। उनले नगरपालिकाका १४ सय भुस्याहा कुकुरलाई रेबिजविरुद्ध खोप दिने कार्यक्रम रहेकोमा अहिलेसम्म ९ सय भुस्याहा कुकुरलाई खोप दिइसकिएको बताइन्।
प्रमुख साहले वडा नं ५ र ९ मा मात्र खोप दिन बाँकी रहेको बताइन्।
बन्ध्याकरणमा समस्या
पर्सागढी नगरपालिकाले भुस्याहा कुकुरविरुद्धको अभियान अन्तर्गत पहिलो चरणमा खोप र त्यसपछि बन्ध्याकरण गर्ने योजना बनाए पनि अहिले यो योजनामा समस्या देखिएको छ।
बन्ध्याकरण गर्ने प्राविधिकको व्यवस्थापन नगरिएकोले बन्ध्याकरणमा तत्काल समस्या देखिएको छ। प्रमुख साहले खोप सकिए लगत्तै भाले र पोथी कुकुरको तथ्याङ्क बनाउने र सोहीअनुरूप बन्ध्याकरण गर्ने बताइन्।
बन्ध्याकरणको लागि नगरपालिकासँग छुट्टै सम्झौता हुनुपर्ने र सोहीअनुरूप तयारी भइरहेको जानकारी पनि उनले गराइन्। भुस्याहा कुकुरलाई खोप दिन संस्थाले तीनजना पशु स्वास्थ्यकर्मीलाई खटाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here