प्रस, वीरगंज, २९ पुस/
वीरगंज महानगरपालिकाले सोमवार बल प्रयोग गरेर वडा नं २१ परवानीपुरमा रहेको दलितबस्ती भत्काएपछि दलितहरू बिचल्लीमा परेका छन्।
नेपाल पत्रकार महासङ्घ, पर्साको सभाकक्षमा दलितहरूले पत्रकार सम्मेलन गरी रेलवेको जग्गामा अहिले लगभग ५ सय घर रहेको तर त्यसमध्ये दलितहरूको १२ वटा मात्र घर भत्काएपछि आफूहरू बिचल्लीमा परेको बताए।
गिरिजादेवी रामले विगत चालीस वर्षदेखि सो ठाउँमा आफूहरू बस्दै आएकोमा सो ठाउँ महानगरले भत्काएर नजीकै रहेको राजहंस घ्यू उद्योगले पक्की गोदाम निर्माण गरिरहेको बताइन्। वडाध्यक्ष हबीब मियाँले बलजफ्ती घर भत्काएर सो जग्गा राजहंस घ्यू उद्योगलाई दिन खोजेको उनले बताइन्।
परवानीपुरदेखि पुलसम्म रेलवेको जग्गामा पक्की घर, पसल रहे तापनि तिनीहरूलाई नहटाइ दलितहरूलाई मात्र हटाएर जाडोको समयमा बिचल्लीमा पारेको पीडितहरूले बताए।
रेलवेको जग्गादेखि आफूहरू टाढा ऐलानी जग्गामा बसेको दलितहरूले दाबी गरे। वडाध्यक्ष मियाँले रेलवेको जग्गा खाली गर्न विनासूचना एकाबिहान घर भत्काएर कपडा, अन्नसमेत नष्ट गरेको दलितहरूले आरोप लगाए। सोमवार घर भत्काइएपछि दलितहरूले प्रदर्शन गरेका थिए। दलितहरूको प्रदर्शनमा स्थानीयहरूले सघाएका थिए।
रेलवेको जग्गाबाट दलितहरूलाई मात्र हटाउनु न्यायोचित नभएको स्थानीयको भनाइ थियो। दलित १२ घरवटा मात्र भत्काउनु र अन्यलाई केही नगर्नु भेदभावको ज्वलन्त उदाहरण भएको स्थानीयले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here