प्रस, वीरगंज, २८ पुस/
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले असंवैधानिक तरीकाबाट संसद् विघटन गरेर प्रधानमन्त्री केपीशर्मा ओलीले लोकतन्त्र, गणतन्त्र र सङ्घीयतालाई नै समाप्त पार्न खोजेको आरोप लगाएका छन्।
संसद् विघटनविरुद्ध जसपा पर्साले सोमवार आयोजना गरेको विरोधसभामा भाग लिन वीरगंज आएका अध्यक्ष यादवले मङ्गलवार सङ्घीय प्रेस फोरमले आयोजना गरेको पत्रकार सम्मेलनमा राजनीतिक झगडालाई राजनीतिकरूपमा समाधान गर्नुको साटो प्रधानमन्त्रीले संसद् विघटन गर्नु असंवैधानिक कदम भएको टिप्पणी गरे। उनले संविधान जारी भएको अवस्थादेखि अहिलेसम्म आफ्नो पार्टी संविधान अधूरो रहेको भनेर संसद्देखि सडकसम्म आन्दोलन गर्दै आएको बताए। उनले प्रधानमन्त्री ओलीको यो असंवैधानिक कदमका विरुद्ध सबै परिवर्तनकारी शक्ति एक भएर जानुपर्ने र सोको विकल्प नरहेको बताए।
अध्यक्ष यादवले जनान्दोलन, मधेस आन्दोलनलगायत सबैखाले आन्दोलनबाट प्राप्त अधिकारलाई संस्थागत गर्नुको साटो प्रम ओलीले संसद् विघटन गरेकोमा आपत्ति व्यक्त गरे।
अध्यक्ष यादवले यदि यथावस्थामा निर्वाचन भएपनि पूर्वराजा महेन्द्रको शैलीमा हुने र त्यसको कुनै अर्थ नरहने बताए। उनले सर्वाेच्च अदालतबाट संसद् पुनस्र्थापना हुने कुरामा आफू आशावादी रहेको र नयाँ सरकार बनेर देश निर्माणमा सहयोग पुग्ने बताए। उनले प्रम ओलीको गलत कदमका कारण नेपालमा बाहिरी शक्तिहरूले चलखेल गर्ने अवसर पाएको बताए। उनले आफ्नो देशको समस्या आफैंले समाधान गर्ने वातावरण बनाउनुको साटो असंवैधानिक कदम चालेर विदेश शक्तिहरूलाई चलखेल गर्ने अवसर मिलेको बताए। उनले दुई छिमेकीसँगको सम्बन्ध सुमधुर बनाएर जानुपर्ने बताए।
जसपाका कार्यकारिणी सदस्य पूर्वसांसद लक्ष्मणलाल कर्णले संसद् विघटन प्रतिगमन भएको र जसपालाई यो कदाचित स्वीकार्य नहुने बताए। नेता कर्णले सरकार काण्डैकाण्डमा फसेको आरोप पनि लगाए। उनले जारी संविधानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न संविधान संशोधन गरेर जाने पार्टीको योजना रहेको बताउँदै असंवैधानिक कदमका विरुद्धमा अब अदालतले न्याय दिने बताए।
सङ्घीय पत्रकार फोरम पर्साका अध्यक्ष आरके पटेलको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वसांसद प्रदीप यादव, सुनील रोहित, प्रदेशसभा सदस्य प्रह्लाद गिरी, करिमा बेगम, केन्द्रीय सदस्यहरू राजेशमान सिंह, शिव पटेल, रम्भा मिश्र, जिल्ला अध्यक्ष रामनरेश यादव, नगरप्रमुख विजयकुमार सरावगीलगायतको सहभागिता थियो। पत्रकार सम्मेलनको सहजीकरण श्याम कुशवाहाले गरेका थिए।